युक्रेनी विमान इरानले खसालेको अमेरिकी दाबी, ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने इरानकाे भनाइ



प्रकाशित मिति : Jan 10, 2020

एजेन्सी, २५ पुष । बुधबार १७६ जनाको ज्यान जानेगरी भएको युक्रेनी विमान दुर्घटनाबारे इरानी अधिकारीहरुले छानबिन थालेका छन् । यस अनुसन्धानमा इरानले अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई सहभागी नगराउने बताइसकेको छ ।

उता केही अमेरिकी सञ्चारमाध्यमहरुले भने इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि सो विमान दुर्घटना हुनगएको दाबी गरेका छन् ।

युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको ‘बोइङ ७३७–८०० म्याक्स’ इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको थियो । विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । यसअघि पनि बोइङका सो मोडेलका विमान इथियोपियन एयरलायन्स तथा इन्डोनेसियाको लायन एयरको विमान पनि दुर्घटनाग्रस्त हुँदा ठूलो हताहती भएको थियो ।

इरानमा भएको सो दुर्घटनाको कारण इरान-अमेरिका तनाव हो या अन्य भन्ने खुल्न सकेको छैन । तर अमेरिकी मिडिया सीबीएसले भने इरानले झुक्किएर मिसाइल प्रहार गर्दा विमान खसेको भनी अमेरिकी अधिकारीहरुले दाबी गरेको समाचार प्रकाशित गरको छ । उसका अनुसार युक्रेनले सो जहाजलाई खसालिएको हो कि होइन भन्ने अध्ययन भइरहेको जनाएको थियो ।

हुन पनि विमान दुर्घटनाको केही घण्टाअघि मात्र इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । त्यस आक्रमणको केही घन्टाभित्रै सो जहाज दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी सबैभन्दा इरानकै नागरिक मारिएका छन् । इरानका ८२, क्यानडाका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफगानिस्तानका ४, जर्मनीका ३ र ३ बेलायती नागरिकको मृत्यु भएको हो ।

अमेरिका-इरान जुहारी

इरानले नै जहाज खसालेकाे भन्नेबारे अमेरिकी इन्टेलिजेन्स अधिकारीहरुले स्याटेलाइटबाट प्राप्त सूचनाका आधारमा निष्कर्ष निकालेकाे बताएकाे भनी सीबीएसले जनाएको छ ।

यसैबीच, अर्काे मिडिया न्यूजवीकले पनि सीबीएसकाे दाबीलाइ बल दिएकाे छ । उसका अनुसार अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागन र अन्य वरिष्ठ अमेरिकी इन्टेलिजेन्स अधिकारीलाइ उद्धृत गर्दै ‘युक्रेनियन जहाजमा एउटा रसियामा बनेको टोर मिसाइलबाट प्रहार भएको’ हाे । उसले यस भनाइकाे पुष्टिका लागि केही इराकी अधिकारीहरुलाई समेत उद्धृत गरेकाे छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्बोधनका क्रममा ‘कसैले गल्तीले दुर्घटना गराएकाे हुन सक्ने आफूलाई लागेको’ बताएका थिए । ट्रम्पकै आदेशमा इरानी जर्नेल कसीम सुलेमानीको हत्या भएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ र यसै क्रममा साे दुर्घटना भएकाे थियाे ।

उता इरानका अधिकारीहरूले विमान निर्माता बोइङ र अमेरिकालाई उक्त विमानको ब्ल्याकबक्स नदिने बताएका छन् । अमेरिकामा निर्मित बोइङ विमान दुर्घटनामा पर्दा प्रायः यूएस न्याश्नल ट्रान्स्पोर्टेशन सेफ्टी बोर्ड छानबिनमा संलग्न हुन्छ । तर त्यसका लागि सम्बन्धित देशबाट अनुमति लिनुपर्छ र त्यो देशको कानुन पालन गर्नुपर्छ ।

यस दुर्घटनाको भने इरानको उड्डयन प्राधिकरणले छानबिन गर्ने बताइएको छ । सो छानबिनमा युक्रेनीहरू पनि उपस्थित हुन सक्ने जनाइएको तर अमेरिकालाई कुनै हालतमा अनुसन्धानमा सहभागी नगराइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com