२४ पुष २०७६, बिहीबार

बनेपा, २४ पुष । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनको ज्यान गएको प्रहरीले जनाएको छ ।

विहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा पाटीखर्कबाट ख्याकु जाने मोटरबाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।

मुत्यु हुनेमा पनौती नगरपालिका–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती नगरपालिका–११ स्थित दिदीको घरमा बस्दै आएका १५ वर्षीय रोशन भण्डारी रहेका छन् ।

सोही घटनामा परी पनौती–७ का स्काभेटर चालक २७ वर्षीय जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट अन्दाजी ३०० मिटर तल सलान्दुखोलामा खसेको थियो ।

त्यस्तै (विहीबार) आज बिहान नै रोशी गाउँपालिका–९ स्थित देउरालीबाट नार्केतर्फ आउँदै गरेको दूध बोकेको बा५च ५०७४ नंको सवारी पानाञ्चेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

रोशी गाउँपालिका–९ का १२ वर्षीय अनिल रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका लागि धुलिखेल अस्पताल लगिएकामा अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले बताए ।

सो घटनामा परी सोही ठाउँका सतीकुमारी पीठाकोटे र चालक टङ्कमान लामा घाइते भएको प्रहरीले जनाएको छ ।

LIVE TV