शाही जिम्मेवारी त्याग्ने ह्यारी दम्पतीको घोषणाबाट बेलायती राजपरिवार दु:खी



प्रकाशित मिति : Jan 09, 2020

एजेन्सी, २४ पुष । बेलायतमा ड्यूक अफ ससिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषण गरेपछि त्यहाँको राजपरिवार दुःखी भएको छ । मङ्गलवार लन्डनस्थित क्यानडाको उच्च आयोगबाट निस्किँदै गर्दा ह्यारी दम्पतीले आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने भन्दै राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गरेका थिए ।

बिबिसीका अनुसार उनीहरुले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन् । उक्त विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको बताइएको छ । ह्यारी दम्पतीको यो अप्रत्याशित निर्णयले बकिङ्गम दरबार ‘निराश’ भएको छ भने राजपरिवारका वरिष्ठ सदस्यहरू ‘आहत’ भएका छन् ।

दरबारसँग परामर्श नै नगरी यस्तो निर्णय लिइनुलाई राजकुमार ह्यारी दम्पती र राजपरिवारबीत ठूलै मतभेद रहेको रुपमा हेरिएको छ । ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगनको यस निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको बकिङ्गम प्यालेसकी एक प्रवक्ताले बताएकी छन् ।

ह्यारी दम्पतीले सो विज्ञप्ती सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् । जसमा भनिएको छ, ‘हामी राजपरिवारका वरिष्ठ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ । यद्यपि हामी महारानीलाई निरन्तररुपमा पूर्ण समर्थन गरिरहनेछौँ ।’

महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन् ।

सरल र सादा जीवनका सौखिन मानिएका राजकुमार ह्यारीको यो निर्णयले ब्रिटेनमा मात्रै नभएर अन्तर्राष्ट्रिय जगतमा समेत ध्याआकृष्ट गरेको छ । गत अक्टोबरमा राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन ठूलै सङ्घर्ष गर्नुपरेको बताउँदै दिक्क मानेका थिए । धेरै सोचविचार र छलफल गरेर मात्र आफूहरु उक्त निर्णयमा पुगेको पनि उनीहरुले बताएका छन् ।

क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए । त्यसपछि उनीहरु लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए । र, त्यहाँबाट बाहिरिएपछि नै राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com