२४ पुष २०७६, बिहीबार

काठमाडौँ, २४ पुस । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको तीन दिनसम्म चलेको बैठक बुधबार सम्पन्न भएको छ । जिल्ला सभापतिहरुले केन्द्रीय कार्य समिति बैठकबाट यही पुस ११ गते बहुमतका आधारमा गरिएको निर्णय सच्याई सहमतिको पराम्परा कायम राख्न नेतृत्वलाई सुझाव दिनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’ चौधौँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितताका लागि सहमतिमा महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने निष्कर्षमा पुगेको धादिङका सभापति रमेश धमलाले जानकारी दिनुभयो ।

बैठकमा कुनै नेता वा समूहमा केन्द्रित नभई सिङ्गो पार्टीलाई केन्द्रविन्दुमा राखेर छलफल भएको उहाँले बताउनुभयो । जिल्ला सभापतिहरुले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका शीर्षनेताहरुमा सहमति कायम हुनुपर्नेमा जोड दिनुभएको थियो ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल पक्षले भावी योजना तय गर्नका लागि सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो । बैठकको पहिलो दिन जिल्ला सभापतिका साथै वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकको दोस्रो दिन नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत र डा शेखर कोइरालाको पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । करिब चार दर्जनभन्दा बढी जिल्ला सभापतिको सहभागिता र समर्थन रहेको बैठकका निष्कर्ष भोलि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्रका रुपमा बुझाइने नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताउनुभयो ।

केन्द्रीय समिति बैठकले यही पुस ११ गते पार्टीको चौधाँै महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एक वर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो ।

LIVE TV