लिफ्ट प्रविधि प्रयोगबाट कालिगण्डकीको पानी घरघरमा पुगेपछि जलजलावासी हर्षित (भिडियो)



प्रकाशित मिति : Jan 07, 2020

१. लिफ्ट प्रविधि प्रयोगबाट कालिगण्डकीको पानी घरघरमा पुगेपछि जलजलावासी हर्षित

खानेपानीको अभाव भो अब त कुरै नगरौ । जलस्रोतको धनी यो देशका मुलुकवासीले तल बगेको नदी र खोलाहरु हेर्दै प्यास मेट्नु पर्ने बाध्यता पुरानै हो ।

खानेपानीको लागि घण्टौं हिड्नु पर्ने, एक गाग्री पानी भर्न एक विहान विताउनु पर्ने नभए खोलामा बगेको जस्तोसुकै पानी पनि पिउनु पर्ने विवशता अझै पनि धेरै स्थानका नेपालीका लागि नियति नै बनेको छ ।

सरकारले खानेपानी र सरसफाईलाई प्राथमिकतामा राखेर बिभिन्न काम गर्दै आए पनि केही स्थानीय तह र उपभोक्ता समितिले खानेपानीको अभावलाई टार्न दत्तचित्त भएर काम गर्न थालेपछि त्यस्को असर पनि देखिन थालिएको छ ।

पर्वत जलजलाका स्थानीयवासी लामो समयदेखि यस्तै नियतिको शिकार बनिरहेका थिए । खोलाको दुषित पानी पिउन बाध्य उनीहरुलाई पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति र स्थानीय तहको सक्रियतापछि स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ ।

कालिगण्डकी नदीमा कलकल बगिरहेको पानी लिफ्टिङ प्रविधि प्रयोगबाट तानेर अहिले जलजला गाउँपालिकाको घरघरमा वितरण गरिएपछि स्थानीयवासीको प्यासले रुखो बनेको आँत पनि रसाउन थालेका छन् ।

२. कालिगण्डकी हाई ड्यामको तालमा पानीजहाज सेवा आरम्भ, पर्यटक बढ्ने विश्वास

मुलुकभित्र पानीजहाजको चर्चा चर्को छ । पानीजहाज चलाएर नेपाललाई भूपरिवेष्ठितको विल्ला हटाउन सक्रिय सरकारले घोषणा गरेको स्थानमा पानीजहाज नचलेपनि चितवनको नारायण नदी, सप्तकोशी र कालिगण्डकी नदीमा भने सानातिना पानीजहाज चल्न थालेका छन् ।

स्थानीय भाषामा जेटवोट भनिए पनि नेपाली नदीहरुका लागि भने यस्लाई पानीजहाज नाम नै सर्वस्वीकार्य बनेको छ । कालिगण्डकी र आँधिखोला थुनेर निर्माण गरिएको कालिगण्डकी हाई ड्यामको तालमा माउण्ट मकालु पानीजहाजले सेवा आरम्भ गरेको हो ।

नेपाल भ्रमण बर्ष ट्वान्टी ट्वान्टीलाई लक्षित गरेर सुरु गरिएको यो पानीजहाज सेवालाई गण्डकी प्रदेश सरकारले समेत गौरवकोरुपमा लिएको छ । पानीजहाज सेवा सुरु भएपछि ड्यामदेखि बिश्वबिराट शालिग्राम शिलाको दर्शन अब १० मिनेटको जलयात्रामा गर्न पाइने भएको छ भने पानीजहाज सेवा सञ्चालन भए स्थानमा व्यवस्थित होटल तथा पर्यटकको सेवा सुविधालाई ध्यान दिएर पूर्वाधार बनाइए पर्यटक मनग्ये पुग्नेमा दुई मत देखिन्न पनि ।

३.बागलुङ र पर्वतलाई जोड्ने एसियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

बागलुङ र पर्वतलाई जोड्ने एसियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र ५ सय ६७ मिटर लामो यो झोलुङ्ग पुलको लठ्ठा तान्ने प्रविधि चीनबाट संघीय सरकारले नै ल्याइदिए पछि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

लामो र अग्लो झोलुङ्गे पुलहरुको निर्माणले चर्चामा रहदै आएको यो क्षेत्रमा अब अर्को कीर्ति जोडिने भएको छ एसियाकै लामो झोलुङ्गे पुलको नाममा । सात करोड ९७ लाख लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भइसक्दा यस्को मुख्य लक्ष्य पनि पर्यटन वर्ष २०२० लाई बनाइएको छ ।

बढ्दो रचनात्मक कार्य र पर्यटकीय गतिविधिलाई टेवा दिने उद्देश्यका साथ निर्माण गर्न थालिएको यस्ता पूर्वाधारले आन्तरिक तथा वाह्य पर्यटक दुबैलाई तान्ने निश्चित देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com