मन्देकाजी श्रेष्ठ : जसको पहिलो स्वर्णसँगै १३ औं सागमा नेपालले स्वर्णीम यात्रा सुरु ग-यो



प्रकाशित मिति : Jan 07, 2020

काठमाडौं, २२ पुष । दशधारा दूध चुसाएर सन्तानलाई हुर्काउने मात्र नभइ सन्तानको सुखसयलदेखि उन्नति प्रगतिमा पनि आमाको भूमिका विशिष्ठ हुन्छ ।

सन्तानको निम्ति भान्से पनि उनै हुन्, सन्तानको सुरक्षाका लागि सुरक्षाकर्मी पनि उनै हुन र कखरा सिकाउने पहिलो पाठशालाको गुरुआमा पनि उनै हुन् अर्थात आमा ।

अनुशासन र उन्नतिको अर्को अध्याय हुन आमा । जो सन्तानको सफलता र सन्तुष्टिलाई आफ्नै खुसी र सफलता ठान्छिन ।

यस्तै सन्तुष्ट आमा हुन् १३ औं दक्षिण एसियाली खेलकुद सागमा करातेतर्फ २ वटा स्वर्ण पदक जित्न सफल खेलाडी मन्देकाजी श्रेष्ठकी आमा मन्दिरा श्रेष्ठ पनि ।

मन्देकाजीका आमा : जो छोराको सफलतामा यसरी भक्कानिइन्

काभ्रेको कानपुरमा जन्मिएकी मन्दिराको बाल्यकाल सुखमय हुन सकेन । घरको जेठो सन्तान भएकोले पनि होला उनको काँधमा परिवारको जिम्मेवारी ठूलो थियो । राजधानीको नजिकैको जिल्ला भए पनि काभ्रेको विकट जस्तै ठाँउमा भएकोले उनको शैक्षिक स्तर पनि उकासिन सकेन ।

आमाको माया जस्तो अरुको माया कहाँ हुन्छ ? आफ्नी आमाको सम्मानमा निस्केको मन्दिराको भावना हो यो । आमाको मायालाई न तौलिन मिल्ने, नत दाँज्न नै । उनको आमाको माया पनि यस्तै थियो न तौलन मिल्ने नत दाँज्न नै ।

आज भन्दा करिब १८ वर्ष अगाडि आमाले यो भौतिक संसारबाट विदा लिएर पनि मन्दिराको मानसपटलमा आमाका यादहरु ताजै छन् । उनलाई हरेक चाडबाँडमा आमाको याद आइरहन्छ ।

बाल्यकालदेखि नै शालिन स्वभावकी मन्दिराले आमाले भौतिक संसार छाडेपछि भाइबहिनी र बुबाको समेत उत्तरदायित्व आफ्नै काँधमा बोकेकी थिइन् । आमा बिनाको संसारमा उनी शून्यतामा विलाउनुको बाहेक केही रहेको थिएन । आमा वितेपछिका धेरै रातहरु उनले रोएर विताएकी छन् ।

१८ वर्षको उमेरमा भक्तपुरको ठिमीमा विवाह गरेर छोरीबाट बुहारी बनेकी उनी विवाह गरेको १ वर्षपछि मन्देकाजीलाई जेठो सन्तानकोरुपमा जन्म दिएर आमा बन्ने सौभाग्य पाएकी थिइन् ।

बुबाले डो¥याएका थिए मन्देकाजीलाई डोजोको पहिलो यात्रामा

हुने विरुवाको चिल्लो पात भनेजस्तै मन्देकाजी सानैदेखि ज्ञानी स्वभावका र हरेक कुरामा अब्बल थिए । पढाइमा समेत उत्कृष्ठ रहेका उनलाई बुबाले कराँतेमा भर्ना गराइदिएका थिए ।

छोराले यो शिखर चुम्ला भन्ने कहिल्यै नसोचेकी मन्दिराले छोराको खुशीमा समेत भक्कानिइन्, त्यतिबेला झनै भावुक बनिन्, जतिबेला छोराले आफ्नो जितसंगै आमालाई फोन गरे जितको खुसी साटेका थिए ।

उनले त्यतिबेला यो कुरा पनि सम्झिइन्, जतिबेला देश संकटग्रस्त स्थितिमा थियो, उनले छोरा नेपाल पुलिसको विभागीय टोलीमा रहेर खेल्छु भन्दा हुन्न भनेर ठाडै नकारेकी थिइन् ।

घरपरिवारको लागि मात्र होइन् छोराले देशकै नाम रोशन गरेका रहेछन् भन्ने उनले त्यतिबेला महसुस गरिन, जतिखेर छोरा मन्देकाजीको गलामा दुई स्वर्ण पदक सजिएको थियो र उनको जितमा पूरै देशले गर्व गरिरहेको थियो ।

मन्देकाजीको नजरमा देवीको अर्को रुप हुन् आमा

मन्देकाजीको नजरमा आमा सम्पूर्ण हुन्, उनी आफ्नी आमालाई भगवान नै मान्छन् । आमालाई खुशी बनाउन सक्नु नै आफ्नो जन्मको र आमाप्रतिको ऋण तिर्नु सरह हुने उनको विश्वास छ ।

नेपालका लागि घरेलु मैदानमा खेलेर पहिलो स्वर्ण जित्दा उनले पहिलो खुशी परिवारसंग बाँडेका थिए । नेपालको लागि १३ औं सागमा पहिलो स्वर्ण जितेर स्वर्णमा नेपालको खाता खोलेका उनी २ ओटा स्वर्ण जितेपछि हर्षविभोर बने ।

बाल्यकालमा बुबाको पसलमा बसेर डोजोमा खेलिरहेको कराते हेर्दै गर्दा बुबाले खेल्छौँ भनेपछि उनको कराते जीवन आरम्भ भएको थियो ।

परिवारको असिम साथ र मातापिताको आर्शीवाद एवं सहयोगी भावनाले नै आफुले यो उचाई हात पारेको मन्देकाजीको भनाइ छ । परिवारको साथको अलावा आफ्ना गुरुजन, साथीभाई र नेपाल प्रहरीको खेलमैत्री वातावरणले पनि सफलताको सिंढी चढ्न सकेको उनको विश्वास छ ।

११ औं सागमा भोग्नु परेको पीडा जो १३ औं सागमा पखालियो

खेलमा २५ वर्षे जीवन बिताइसकेका मन्देकाजीले खेल जीवनमा केही तीतामीठा अनुभव पनि संगालेका छन् । खेलमा कहिले हार र कहिले जीत त हुन्छ भन्ने सोच्ने उनले ११ औँ साग खेलकुदमा नमिठो अनुभव भोग्नु परेको थियो ।

तर त्यतिखेर यो उनको गल्ती थिएन, तत्कालीन खेल अधिकारीहरुको गल्तीको कारण उनले ११ औं सागमा सहभागिता जनाउन अन्तिम समयमा चुकेका थिए ।

१३ औं सागमा नेपाललाई पदक तालिकामा पहिलो स्वर्ण पदक जिताउँदा मन्देकाजीले धेरै देशवासीको ध्यान आफुतर्फ खिच्न सफल भएका थिए । त्यसमाथि २ वटा स्वर्ण दिलाउँदा उनीमाथि सबैको नजर पर्न थप केन्द्रित बन्न पुग्यो ।

यही सफलताको कारण मन्देकाजी सागको १३ औं संस्करणका लागि अविष्मरणीय पात्र बने ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com