२२ पुष २०७६, मंगलवार
  • केदार शर्मा

चितवन, २२ पुस । चितवनको भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने टिकौली जंगल वन्यजन्तुको करिडोर हो । यो राजमार्गमा गैँडा, हात्ती, बाघलगायतका वन्यजन्तु वारपार गर्दछन् । जनावर वारपार गर्ने छट्टै मार्ग नहुँदा उनीहरुलाई राजमार्ग वारपार गर्न कठिनाइ हुने गरेको छ । कहिलेकाहीँ त सवारी साधनको ठक्करबाट वन्यजन्तुको ज्यानै जाने गरेको छ ।

यसरी वन्यजन्तु जोगाउन समस्या भइरहेको बेला उक्त जंगलको चौरमा वन्यजन्तुलाई ‘डिस्टर्ब’ हुनेगरी ‘रत्ननगर महोत्सव’को आयोजना गरिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यापार व्यवसाय प्रवर्द्धन गर्नका लागि महोत्सव भनिए पनि यसले वन्यजन्तुलाई पार्ने असरबारे ध्यान दिइएको छैन ।

महोत्सव अवधिभर ठुलो आवाजमा सांस्कृतिक कार्यत्रम सञ्चालन हुन्छन् । जंगल क्षेत्रमा, त्यो पनि वन्यजन्तु करिडोर क्षेत्रमा चर्को आवाजमा होहल्ला गर्न पाइँदैन । तर रत्ननगर उद्योग बाणिज्य संघले भने उपराष्ट्रिपतिलाई नै बोलाएर महोत्सव गर्दै छ ।

महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक रहेको छ । प्रत्येक २ वर्षमा हुने उक्त महोत्सवले वन्यजन्तुलाई असर गर्ने कुरा रत्ननगर नगरपालिकालाई थाहा नभएको होइन होला । तर यसलाई नजरअन्दाज गरेर महोत्सल स्थल अन्यत्र राख्ने कुरामा ध्यान दिइएको छैन ।

यही महोत्सव आयोजना गर्न लागिएको स्थानमा पहिला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउने तयारी गरिएको थियो । तर आरक्षका वन्यजन्तुलाई असर गर्छ भनेर पछि विरोध र दबाव बढेपछि त्यहाँ रंगशाला बनाउन रोकियो ।

तर महोत्सव आयोजकले भने वन्यजन्तुलाई हुने डिस्टर्ब ख्याल गरेको छैन । यही पुस २५ बाट माघ ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव स्थलमा संघले हेलिकप्टर उडाउने तयारी समेत गरेको छ । वन्यजन्तु करिडोरमा हुने कार्यक्रममा होहल्ला नगर्ने सर्तमा जिल्ला वन कार्यालयबाट अनुमति लिइएको रहेछ । तर वनले भने हेलिकप्टर उडाउने अनुमति दिएको छैन ।

यसरी करिडोरमै पर्ने खाली चौरमा हेलिकप्टर उडाउँदा र महोत्सव सञ्चालन गर्दा बन्यजन्तुमा प्रत्यक्ष असर पर्ने देखिन्छ । टिकौलीदेखि गोन्द्राङसम्मको ३.८ किलोमिटर सडक वन्यजन्तु करिडोरमा पर्दछ ।

LIVE TV