२१ पुष २०७६, सोमबार

काठमडाैं,२१ पुष। जयनगर–जनकपुर–कुर्थाको ३५ किलोमिटरमा माघ दोस्रो साताभित्र रेल सञ्चालन हुने भएको छ । त्यसका लागि भारतको चेन्नईमा रेल बनिरहेको छ ।

बर्दिवास–जनकपुर–जयनगरको ६९ मध्ये ३५ किलोमिटरको काम सकिएपछि त्यहाँ सरकारले रेल सञ्चालन गर्न लागेको हो ।

भारतको आर्थिक तथा प्रावधिक सहयोगमा निर्माण भएको जयनगर–जनकपुर–बर्दिवास रेल मार्गको ३५ किलोमिटर कुर्थासम्म रेलवे ट्रयाक तयारी अवस्थामा छ । तर, रेलगाडी भने सरकारले आफ्नै पूर्णस्वामित्व हुनेगरी ८४ करोड ६५ लाख रुपैयाँमा जिटुजी प्रक्रियाबाट खरिद गर्ने गरी भारतको कोकन रेलवे कर्पोरेसनसँग खरिद सम्झौता गरेको थियो ।

अहिले भारतको चेन्नईमा निर्माण भइरहेको रेलको काम अन्तिम चरणमा रहेको छ । एक लोमोटिभ र पाँच डिब्बा रहने रेल, माघको दोस्रो सातासम्ममा नेपाल आउने रेल विभागले जानकारी दिएको छ । तर, रेल चलाउन दक्ष जनशक्ति नेपालमा नरहेकाले भारतबाटै ल्याउने सरकारको तयारी छ ।

नयाँ रेलमा अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुने विभागले जनाएको छ । यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ ।

हाल, खरिद प्रक्रियामा रहेको रेलको एउटा डिब्बामा एकसय जना सम्म यात्रु बसेर यात्रा गर्न सक्नेछन् । यो ब्रोडगेज रेलले प्रतिघण्टा एकसय किलोमिटर गुड्ने छ । कुर्थासम्म १५ वटा रेलस्टेसन रहेका छन् ।

सरकारले रेल चलाउने बताइरहदा रेल चढ्नेका लागि भने कडा कानुन ल्याउने तयारी गरेको छ । रेल्वे सम्वन्धी विद्येयकमार्फत रेलको टिकट वा यात्रा अनुमति पत्र नलिई यात्रा गरेमा २५ हजार रुपैयाँ जरिवाना गर्ने छ ।

LIVE TV