२१ पुष २०७६, सोमबार
  • राजु पौडेल

झापा, २१ पुष । पूर्वको मेची नदी पारी पनि नेपाली भूमि छ । तर, त्यहाँ बसोबास गर्ने नेपाली बर्षौंदेखि भारतीयको दादागिरी सहन बाध्य छन् । नदीको बाढी र भारतीयको सास्तीले आफ्नै जमिनको भोगचलन गर्न पनि नेपालीलाई सकस परिरहेको छ ।

झापाको भद्रपुर–५ सिमलडाँगी पश्चिममा मेची खोला र अरू ३ तिरबाट भारतीय भूमिले घेरिएको छ । यहाँको सयौं विगाह नेपाली भूमिमा कृषिजन्य सामग्रीको राम्रो उत्पादन हुन्छ ।

उत्पादन भएका कृषिजन्य सामग्री कि त भारतीय बाटो भएर ल्याउनुपर्छ कि त जोखिम मोलेरै भए पनि खोलाबाट वारी तार्नुपर्ने बाध्यता छ । आफ्नै भूमिमा उत्पादन भएको सामाग्री भद्रपर बजारसम्म ल्याउन स्थानीयलाई सास्ती छ ।

आफ्नै देशको बजारमा कृषिजन्य उत्पादन ल्याउन पनि भारतीय सीमा सुरक्षा बलसँग पैठेजोरी खोल्नुपर्छ । नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा किसानलाई सकस भएको स्थानीय बताउछन् ।

२०४५ सालमा मेची नदीमा आएको बाढीले मेचीपारिको बस्ती विस्थापित ग¥यो । खेतीयोग्य जमिन खण्डहर बनाउँदै अर्काको जग्गा खनजोत गर्दै बसेका किसानलाई उठिबास नै लगायो । तर, विस्तारै खोला पुरानै धारमा फर्कियो ।

किसानले खण्डहर भएको बगरलाई पुनः खनजोत गर्दै उब्जनी हुनसक्ने बनाए । अहिले त्यस क्षेत्रमा धान, मकै, आलु, भन्टा, खुर्सानीजस्ता अन्न तथा तरकारी उत्पादन हुन्छ ।

खेतीयोग्य जमिनभन्दा करिब दुई किलोमिटर दक्षिणमा भारतसँग जोड्न पुल बनाइएको छ । तर, त्यहाँ उत्पादन भएका कृषिजन्य सामग्री पुलबाट लैजान भारतीय भूमि नै प्रयोग गर्नुपर्छ । जसका कारण भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयको झमेलामा पर्नुपर्छ ।

नेपालमै उत्पादन भएको सामाग्री आफ्नै ठाउँमा लैजाँदा पाएको दुःखलाई स्थानीय सरकारले नहेरेको किसान दुखेसो छ । तर, भद्रपुर नगरपालिका भने कुनै अप्ठ्यारो नरहेको दाबी गर्छ ।

LIVE TV