२१ पुष २०७६, सोमबार
  • हरीकृष्ण गौतम

म्याग्दी, २१ पुष । म्याग्दीमा पहिलोपटक एकजना बिरामीलाई स्क्रब टाइफसको संक्रमण देखिएको छ । बेनी नगरपालिका–९ की ६६ वर्षीया एक बृद्धालाई मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने रोग स्क्रब टाइफस देखिएको बेनी अस्पतालले जनाएको छ ।

तीन जना शङ्कास्पद बिरामीलाई जाँच गर्दा बृद्धामा स्क्रब टाइफस पोजिटिभ भेटिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेसिडेन्स चिकित्सक सुदिप अधिकारीले बताउनुभयो । उहाँ उपचारपछि घर फर्किनुभएको छ,‘ यो सरुवा रोगहरु मध्यको एक हो’ डा. अधिकारीले भन्नुभयो ।

तीन महिनाका लागि बेनी अस्पतालमा कार्यरत डा. अधिकारीका अनुसार ग्रामिण क्षेत्रबाट ज्वरो निको नभएपछि उपचारको क्रममा अस्पतालमा आउँदा स्क्रब टाइफस देखिएको बताउँदै जनचेतनाको अभावले विरामीको संख्या बढ्न सक्ने बताउनुभयो ।

स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने,टाउको दुख्ने, पसिना धेरै आउने, मुख्य किराले टोकेको ठाँउमा रातो डावर जस्तो समस्या देखिने गरेकोले रोगका बारेमा समुदायमा जानकारी गराउनुपर्ने डा. अधिकारीको भनाइ रहेको छ ।

मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका अर्का डा. मनोज घिमिरेले बताउनुभयो ।

बेनी अस्पताल र स्वास्थ्य कार्यालयसहित जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखामार्फत प्रचारप्रसार गरी रोगका बारेमा जानकारी दिन समेत अपिल गरिएको छ ।

LIVE TV