२१ पुष २०७६, सोमबार

काठमाडौं, २१ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीहरुको दोस्रो समूहले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा प्रशिक्षण सुरु गरेका छन् ।

सोमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा हुने विश्वास गरिएको छ । यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ जना अधिकारीको पहिलो समूहले गत मंसिर ३० देखि पुष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिएका थिए । नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष भएको नेपालस्थित भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने विश्वास समेत गरिएको छ । मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यस्को प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई निखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्ने र अन्ततःयसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न तालिम लिने अधिकारीलाई सक्षम बनाउने विश्वास पनि विज्ञप्तीमार्फत व्यक्त गरिएको छ ।

LIVE TV