२१ पुष २०७६, सोमबार

काठमाडाैँ, २१ पुष । सभामुख चयनबारे नेकपामा एकप्रकारकाे रस्साकसी नै चलेकाे छ । लामाे छलफलबाट समेत पार्टीले सभामुखकाे उम्मेदवारबारे साझा धारणा बनाउन नसक्दा याे पेचिलाे विषय बन्दै गएकाे हाे ।

आज पनि यसबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा ओली र दाहालका अलावा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् । अध्यक्षद्वयबीच सभामुखबाहेक प्रदेश- ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफल भइरहेको बताइएकाे छ ।

नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताउनुभएको थियो । नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ ।

नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ ।

पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अवको बैठक पुस २७ गतेलाई बोलाइएको छ ।

LIVE TV