२१ पुष २०७६, सोमबार

एजेन्सी, २१ पुष । अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ ।

परमाणु संवर्द्धनका लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात तथा त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना नगरिने इरानले घोषणा गरेको छ ।

तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यस्तो भनाइ सार्वजनिक गरिएको हो । अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या भएपछि ईरानको तर्फबाट यो प्रतिक्रिया आएको हो ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो । यसको बादलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए ।

LIVE TV