२० पुष २०७६, आईतवार

काठमाडौं, २० पुष । फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि वर्षेनी आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ ।

क्लबले यही पुष २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी ‘नेपाल फोटो कन्टेस्ट–२०७६’ को घोषणा गरेको हो ।

ग्लोबल आईएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुरु भएको घोषणा गर्नुभएको थियो । उहाँले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गर्नुभएको थियो ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेबसाइट www.pjclub.com.np वा www.npc.photonepal.trevel मा गएर दिइएको निर्देशन अनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्वीर भने समावेश गराउन पाइने छ ।

उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्नेछ । आइतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।

फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट–भी’ पनि लोकार्पण गरिएको थियो ।

LIVE TV