२० पुष २०७६, आईतवार
  • अमर काफ्ले,

इनरुवा, २० पुष । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध नेपाल आर्मीले फराकिलो जित निकालेको छ ।

समूह ‘ए’ अन्र्तगतको पहिलो खेलमा आर्मीले अर्को विभागीय टिम एपीएफ विरुद्ध १ सय ८ रनको जित दर्ता गरेको हो । २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ७३ रनमा समेटिएपछि आर्मीले स्पष्ट २ अंक हात पारेको छ ।

एपीएफका पृथु बास्कोटाले ३६ र शंकर रानाले ३२ रन बनाए । सुदीप मर्हजन र सन्दीप जोराले समान २३ रन बनाएको खेलमा प्रदीप ऐरीले २१ र वसन्त रेग्मीले १७ रन जोडे । एपीएफलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सहाव आलमले ४ तथा कुशल मल्लले २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले १ सय ११ रनको शतकीय पारी खेले । त्यस्तै अनिल मण्डलले ४१, राजेश पुलामीले ३८, रोहित पौडेलले २१ र बिनोद भण्डारीले ७ रन जोडेका थिए ।

कुशल मल्ल प्रतियोगिताको म्यानअफ द म्याच चुनिए । प्रतियोगित अन्र्तगत सोमबार आयोजक र एपीएपबीच प्रतिष्पर्धा हुनेछ ।

LIVE TV