२० पुष २०७६, आईतवार

मनोज श्रीवास्तव

कपिलवस्तु, २० पुष । अस्ट्रेलियाका १० विद्यार्थी नेपालको जैविक विविधता, संरक्षणका काम, वन्यजन्तु, चरा र चार्डपर्व अध्ययन गर्न नेपाल आएका छन् ।

चाल्स स्टर्ट विश्वविद्यालय वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी शैक्षिक कामकालागि यहा आएका हुन् । साता बढी कास्कीको अन्नपुर्ण संरक्षण क्षेत्रको अध्ययन अवलोकन गरी लुम्बिनीमा आएका थिए । ७ छात्रा र ३ छात्र १०० पुर्णाङ्ककाे अन्तर्राष्ट्रिय प्रयोगात्मक अनुभव विषयका लागि अध्ययन गर्न यहाँ पुगेका हुन् ।

उनीहरु लुम्बिनी क्षेत्रमा रहेको विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुर ताल पुगे । त्यहाँ चरा, पानीजन्य वन्यजन्तु, उभयचरकाे अध्ययन गरे । त्यस्तै तराईमा स्थानीय जनताले संरक्षित क्षेत्र कसरी व्यवस्थापन गरेका छन् भन्ने विषयमा सोधपुछ गरे र जानकारी लिए । विद्यार्थीले रुपन्देही र कपिलवस्तुको जैविक विविधता, पर्या-पर्यटन, मानव र चराको सम्बन्धलाई अध्ययनको विषय बनाए । चरा र पर्यापर्यटनलाई स्थानीयले जिविकोपार्जनको माध्यम बनाएको कुरामा निकै चाख लिएका थिए ।

विद्यार्थीले कास्कीमा पहाडी क्षेत्रका वन्यजन्तु, चरा र जैविक विविधता अध्ययन गरेकाे बताएका थिए । उनीहरुले अन्नपुर्ण संरक्षण क्षेत्रमा स्थानीय जनताको सहभागीतामा संरक्षित क्षेत्रको संरक्षणलाई चासो दिई अध्ययन गरेको उनीहरुसंगै आएका वातावरण विषयका प्रोफेसर जर्मन नागरिक मिलानो मासारोले बताए ।

लुम्बिनीपछि विद्यार्थीको टोली चितवन राष्ट्रिय निकुञ्ज पुगेका थिए । त्यहाँ उनीहरुले हिमाल, पहाड र तराईमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा कसरी काम भइरहेको र स्थानीयसँगको सम्बन्धबारेमा अध्ययन गरे । उनीहरु नेपालको एक महिनासम्म अध्ययन गरेर गत साता फर्किसकेका छन् ।

नाैलाे र आकर्षक

विद्यार्थीले विश्वमै नौलो मानिएको प्रकृति र धर्मसंस्कुति बीचको अन्तरसंबन्ध, रोचक तथ्य र कथालाई अध्ययन गरे । ‘थोरै समयमै सेताम्य हिमाल, पहाडदेखि हरिया तराईका फा“टमा वन्यजन्तु, चरा र सिमसार क्षेत्र अवलोकन गर्न पाईने लालसा बोकेर नेपालमा आउछन्’ टोलीमा संलग्न चाल्स स्टर्ट विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डा. हेमसागर बरालले भने, ‘त्यो आकर्षणले उनीहरु यहाँ आउछन् ।’

संरक्षणका क्षेत्रमा विश्वमा नेपालमा नमुना र उदाहरणीय काम भएको मानिन्छ डा. बरालले भने त्यसैलाई हेर्न आउछन् । ‘नेपालका जैविक विविधताका नौलो तथ्य र आकर्षणबारे जानकारी दिन्छौं’ प्रोफेसर मिलानो मासारोले भने, ‘त्यस पछि विद्यार्थी आफै आउन हतारिन्छन् ।’

यहा आएपछि निक्कै मर्मस्पर्शी र रोचक संरक्षणको काम देखेर अब्बल ज्ञान बढेको विद्यार्थी ह्यारीजोन स्मिथले बताए । चरा, प्रकृति संरक्षण र हिमाली दृष्यावलोकनले अनुपम आनन्द दियो । ‘नेपालमा वन्यजन्तु संरक्षण गर्न स्थानीयको योगदान र सहभागीता निक्कै सहनिय छ’ उनले भने, ‘यहाबाट विश्वले ज्ञान लिनु पर्ने पाए ।’

नेपाल भन्दा अस्ट्रेलिया धेरै ठूलो रहेकाे बताउँदै प्रोफेसर मिलानो मासारोले जगदिशपुरमा अस्ट्रेलियामा नदेखेका १५ चरा एक घण्टाभित्रै देखेर रोमाञ्चित बनेकाे प्रतिक्रिया दिए ।

गाैरवकाे विषय

‘नेपाली धर्म संस्कृतिले चरा र सरिसृप संरक्षण गरेको देख्दा मन छोयो’ छात्रा सोफीकेट वीनले भनिन्, ‘यस्ले काग, कुकुर, सर्प र कछुवाको संरक्षणमा निकै सहयोग पुगेको छ । यी अनौठा र प्रेरणादायी काम हो, जुन अन्त सुनिँदैन ।’

अध्ययनकालागि नेपाल आएका विद्यार्थी यहाँको कलासंस्कृति, रहनसहन, वन्यजन्तु र जैविक विविधता देखेर निक्कै रमाएको संरक्षणकर्मी शरद सिंहले बताए । ‘विदेशी विद्यार्थीले अध्ययनका लागि नेपाल छान्नु गौरवको विषय हो’ उनले भने, ‘यस्ले विदेशमा नेपाल भ्रमण वर्ष २०२० लाई गतिलो सहयोग गर्छ ।’

यहाँको अध्ययनपछि विद्यार्थीले प्रकाशित गर्ने अनुसन्धानात्मक जर्नलले नेपालको पर्यटकिय विकासकालागि विज्ञापनको काम गर्छ ।

LIVE TV