२० पुष २०७६, आईतवार
  • हरिकृष्ण गाैतम

म्याग्दी, २० पुष । सिजनमा दोस्रोपटक हिजो शनिबार हिमपात भएपछि म्याग्दीको नयाँ र सुन्दर पर्यटकीय स्थल टोड्के बिछट्टै सुन्दर देखिएकाे छ । आतबार बिहानै सुर्योदयसँगै माैसम पनि खुल्दै गएपछि यहाँकाे भुइँभरि छ्यापिएका हिमकणहरूमा घामकाे किरण टल्किँदा चाँदीजस्तै टल्किएको थियो ।

नजिकै धौलागिरि हिमाल चाँदीकाे शैलजस्तै टल्केको दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई माेहित बनायाे । हिमपातको जानकारी पाएपछि शनिबार ठूलो संख्यामा बेनीबजार तथा आसपासका क्षेत्रबाट मानिसहरू हिउँमा रमाउन टोड्के पुगेका थिए ।

बेनी अस्पतालमा कार्यरत चिकित्सकसहितको टोली र अन्य विभिन्न समुह बनाएर टोड्केमा पुगेकाहरुले अग्लो डाँडाबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रेसहितका हिमश्रृंखलाे दृश्यावलाेकन गर्दै रमाए ।

आसपासमा लालीगुँरासको ठूलो जंगलमा फुल्ने सुरसारमा रहेको गुराँसमा हिउँ टाँसिएको दृश्यले समेत त्यहाँ पुग्नेलाई लोभ्याएको थियो । टोड्के रिर्सोटको छेउछाउमा रहेका बस्ने ठाउँ हिउँको कार्पेटजस्तै भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट छोटो दुरीको घुम्ने पर्ने गन्तब्यको सूचीमा राख्ने गरेकाले पनि टोड्केलाई ग्रामिण पर्यटनको हिराको रुपमा समेत चिनिने टोड्केमा बाख्लो हिमपातले यस सिजनमा घुम्न जाने बाध्य बनाएको छ ।

१२ महिनै आन्तरिकको लर्को तथा फाटफुट विदेशी पर्यटक घुम्न जान्छन् । फागुन, चैत्र र बैशाख महिनामा वनपाखाहरुमा राता, गुलावी र सेता रङ्का साथै विभिन्न १९ प्रजातिका लालीगुराँसले ढकमक्क छोपिने टोड्के पुस र माघ महिनामा हिउँको घुम्टोभित्र हुन्छ । विभिन्न प्रजातिका लालीगुराँस र सेताम्मे हिमपात टोड्केको पहिचा नै हो ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के २ हजार ५ सय मिटर उचाइमा अवस्थित टोड्केको प्राकृतिक सुन्दरताको जति बख्यान गरे पनि सकिँदैन ।

तस्वीर साैजन्य : अनिष बानियाँ

LIVE TV