तमोर नदीमा ७६२ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण हुने, पूर्व समृद्ध बन्ने विश्वास (भिडियो)



प्रकाशित मिति : Jan 04, 2020

१. तमोर नदीमा ७६२ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण हुने,पूर्व समृद्ध बन्ने विश्वास

उज्यालो पूर्व अब थप उज्यालो बन्ने भएको छ । नेपालकै ठूलो मध्येको एक सप्तकोशी नदीको प्रमुख सहायक नदी मानिएको तमोर नदीमा ७ सय ६२ मेगावाट क्षमतको जलविद्युत आयोजनाको निर्माण प्रक्रिया थालिने भएपछि समृद्धिको रेखा पहिल्यै कोरेको प्रदेश एक अब थप समृद्ध बन्ने निश्चित भएको छ ।

तमोर नदीको क्षमता असीमित भएपनि यो नदी उत्पादनहीन झै बनेर बगिरहेकी थिइन । तर अब पाँचथरको स्याबरुम्बा, भाङटार, जोरामौरे र तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौढुंगे बीचमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने सम्भावना सम्भाव्यता अध्ययनले देखाएपछि यो प्रक्रिया अब चाँडै सुरु हुने भएको छ ।

आयोजना निर्माणका लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि काम चाँडै अघि बढ्ने विश्वास गरिएको छ । आयोजना निर्माण हुने भएपछि तेह्रथुम, पाँचथर , ताप्लेजुङ र धनकुटावासी मात्र नभई समग्र प्रदेश एकवासी हर्षित बनेका छन् ।

२. धरानको सडकलाई मानवमुक्त बनाउने अभियानको थालनी,शुक्रबार ३१ सडक मानवको उद्दार

सडकलाई मानवमुक्त बनाउने अभियान अब पूर्वमा प्रवेश गरेको छ । प्रदेश एकलाई पनि सडक मानवमुक्त बनाउने अभियानको श्रीगणेश शुक्रबार रातिदेखि धरानबाट सुरु गरिएको छ ।

पूर्वका सबैभन्दा बढी सडक बालबालिकाका रहेको धरानमा शुक्रबार राति संघीय मन्त्रीदेखि प्रदेशमन्त्री हुँदै स्थानीय तहका पदाधिकारीहरुको उपस्थितिमा धरानबाट १५ बालबालिकासहित ३१ जनाको उद्दार गरिएको छ ।

चितवनबाट सुरु हुँदै संघीय राजधानी काठमाडौंमा पनि थालिएको यो अभियान अहिले पूर्व पुग्दा अब देशका अन्य शहरमा पनि यस्को उपस्थिति आवश्यक देखिएको छ । सकारात्मक अभियानकोरुपमा लिइएको यो अभिायनको प्रभावकारितामा भने अभियान सुरु हुँदै गर्दादेखि नै प्रश्न उठेको छ ।

उद्दार गरिएका बालबालिका तथा मानवहरु पुनः सडकमा फर्कन नसक्न गरी उनीहरुलाई पुर्नस्थापित गर्न आवश्यक छ । रहरले नभइ कर , डर र अभावले नै हो मानिसहरु सडकमा आउने । तर यी कारक तत्वहरु उनीहरुबाट हटाउन सके वास्वतमा देशका सबै सडकहरु मानवमुक्त हुने निश्चित छ ।

३. देशकै फुटबललाई बलियो बनाउन ‘खेप’को भरमा टिकेका पूर्वका फुटबल खेलाडीहरु

फूटबलको लागि मात्र नभइ धेरै खेलका लागि खेलाडी उत्पादन गर्न पूर्व उर्वर भूमि मानिन्छ । अहिले विशेषत फुटबलमा पूर्वका अर्थात प्रदेश एक अन्तर्गतका जिल्लाहरुको उपस्थिति बलियो मानिदै आएको छ ।

तर पूर्वका खेलाडीहरुले आफूहरुलाई राष्ट्रिय फुटबल टोलीका लागि कसरी योग्य बनाइरहेका छन् र आफुहरुलाई कसरी निरन्तर फुटबलमा टिकाइरहन सकेका छन् भन्ने पक्ष भने रोचक छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेन्डरमा समेटिएको प्रतियोगिता र ए डिभिजन लिग बाहेक क्षेत्रमा हुने साना तिना फुटबल प्रतियोगिता र भारतको बिभिन्न शहरमा हुने फुटबल प्रतियोगितामार्फत पाउने खेप अर्थात खेल पारिश्रमिक नै उनीको टिकाउको मुख्य आधार बन्दै आएको छ ।

पूर्वका धेरै फुटबलरहरु दार्जिलिङ, सिक्किम, सिलुगुढी र आसामलगायतका स्थानमा हुने फुटबल प्रतियोगिताहरुमा व्यस्त बन्दै आएका छन् । जसबाट उनीहरुको खेलको निरन्तरतमा मात्र नभइ रोजीरोटीको राम्रो व्यवस्था समेत गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com