
- मनोज श्रीवास्तव,
कपिलवस्तु, १९ पुष । नेपाल भारत सीमाको बजार मर्यादपुरबाट एक नेपालीको अपहरण भएको छ ।
यशोधरा गाउपालिका–८, मटेरियाका ४५ वर्षे मुवारक खानलाई भारतीय सुरक्षाकर्मीले शनिबार दिउँसो मर्यादपुर बजारबाट अपहरण गरेको हो ।
उनी बसीरहेको ठाउमा भारतीय सुरक्षाकर्मी आई हात समातेर जबरजस्ती युपी५५एक्स ०१०१ नम्बरको सेतो रंगको स्कोर्पियो गाडीमा राखेर लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
‘भारतीय प्रहरीसँग सोध्दा एसटिएफले लगेको भनेको सुनेको हुँ’, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक सुनिल मल्लले भन्नुभयो, ‘यसबारे भारतीय प्रहरीसँग सोध्ने काम भइरहेको छ ।’
भारतीय सुरक्षाकर्मीले सीमाको मर्यादपुर प्रहरी चौकी र बिओपी डंगरीको सशस्त्र प्रहरीको रोकावटलाई छल्दै खानलाई दशगजा कटाएका थिए ।