१९ पुष २०७६, शनिबार
  • राजु पौडेल

झापा , १९ पुष । फूटबलको लागि मात्र नभइ धेरै खेलका लागि खेलाडी उत्पादन गर्न पूर्व उर्वर भूमि मानिन्छ । अहिले विशेषत फुटबलमा पूर्वका अर्थात प्रदेश एक अन्तर्गतका जिल्लाहरुको उपस्थिति बलियो मानिदै आएको छ । तर पूर्वका खेलाडीहरुले आफुहरुलाई राष्ट्रिय फुटबल टोलीका लागि कसरी योग्य बनाइरहेका छन् र आफुहरुलाई कसरी निरन्तर फुटबलमा टिकाइरहन सकेका छन् भन्ने पक्ष भने रोचक छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको क्यालेन्डरमा समेटिएको प्रतियोगिता र एक डिभिजन लिग बाहेक क्षेत्रमा हुने साना तिना फुटबल प्रतियोगिता र भारतको बिभिन्न शहरमा हुने फुटबल प्रतियोगितामार्फत पाउने खेप अर्थात खेल पारिश्रमिक नै उनीको टिकाउको मुख्य आधार बन्दै आएको छ ।

पूर्वको समथर तराई होस् या पहाडको डाँडाकाडाँ फुटबलप्रतिको क्रेज उस्तै
फुटबल खेलाडीका उत्पादनका लागि पूर्व उर्वर मानिन्छ ।

पूर्वको समथर तराई होस् या पहाडको डाँडाकाडाँ फुटबलप्रतिको क्रेज उस्तै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘क्यालेन्डर’मा परेका गोल्डकपबाहेक गाउँशहरमा हुने त्यस्ता फुटबल प्रतियोगिताले पूर्वमा नयाँ खेलाडीहरुलाई अवसर मात्रै सिर्जना गरेको छैन व्यवसायिक रुपमै पूर्वमा फुटबल खेल्ने खेलाडीलाई बाँच्ने आधार समेत बनेको छ ।

नेपाली फुटबलमा व्यवसायिकताको कमी र नियमित रुपमा लिग नहुँदा पूर्वतिरका खेलाडीको बाँच्ने आधार मोफसलको गोल्डकप र सीमावर्ती भारतमा हुने प्रतियोगिताको ‘खेप’ हो । २ महिनाको लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेको खेप हो । खेप अर्थात् खेल पारिश्रमिक ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलामका खेलाडी खेपका भरमा चलेका छन् । विशेष गरी यी जिल्लाहरुसँगै पूर्वी पहाडी जिल्लाहरुमा हुने गोल्डकप साथै भारतको कोलकाता, असाम, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दाजिलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन् ।

भारत र नेपालको पूर्वी पहाडी जिल्लामा हुने प्रतियोगितामा खैल मैदान र रंगशालाको भौतिक संरचना उपयुक्त नभएपनि फुटबलप्रतिको क्रेजका कारण त्यस्ता ठाउँहरुमा समेत प्रतियोगिता सञ्चालन हुँदै आइरहेका छन् । जसका कारण स्थानीय खेलाडीहरुले अवसर मात्रै पाएका छैनन् मोफसलमा चलेका खेलाडीको परिवार धान्ने माध्यम पनि बनेको छ ।

खेलजीवनको निरन्तरताको ठूलो आधार

झन्डै ५ वर्षपछि लिग भएपनि त्यसपछि प्रतियोगिताको निरन्तरताको सम्भावना न्यून रहँदा खेप नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरु बताउँछन् । खेपले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको छ । तर, साना साना प्रतियोगिताका दौरान भएका इन्जुरीले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको खेलाडी बताउछन् ।

देशका २ दर्जनभन्दा बढी गोल्डकप प्रतियोगिता आयोजना हुन्छन् । यो बाहेक साना र भारतमा हुने प्रतियोगिताको संख्या पनि धेरै छन् । जसमा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ । धेरैजसो प्रतियोगिताको मिति जुध्दा यस्ता खेलाडीहरुलाई समस्या पर्ने गरेको उनीहरु बताउछन् । एन्फाले फुटबलको विकासका लागि सीमित समयमा आयोजना गरिएका गोल्डकपहरु जुधाउनु भन्दा पनि बर्ष भरिनै चलयमान बनाउनुपर्ने खेलाडीको धारणा छ ।

भारतमा हुने फुटबल प्रतियोगिताहरु पनि वरदान बन्दै

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, झापाका कर्ण लिम्बू, योगेश गुरुङ, विशाल राई, दिलेन लोक्ताम, एञ्जल गुरुङ, निरोज बस्नेतलगायतका खेलाडीहरु फुटबलमा खेपकै कारण टिकेका छन् । यी बाहेक पूर्वमा विभिन्न स्थानमा हुने प्रतियोगितामा विभिन्न क्लबहरुबाट फुटबल खेल्ने खेलाडीहरु पनि धेरै छन् । मोफसलमा चलेका खेलाडीको आर्थिक उपार्जनको मुख्य स्रोत र नियमित अभ्यास नै नेपाल र भारतको विभिन्न स्थानमा हुने प्रतियोगिता बनेको छ ।

विभागीय बाहेकका ’ए’ डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिकअनुसार सहभागी गराउँछन् । मोफसलको सफल क्लबको रुपमा रहेको पूर्वको झापा–११ ले समेत सबै खेलाडी अनुबन्धन गरेको छैन । यसरी क्लबहरुले खेलाडीलाई कम्तीमा एक वर्ष पनि अनुबन्धन नगर्दा वर्षभरि खेलेर बाँच्ने वातावरण बनेको छैन ।

LIVE TV