१९ पुष २०७६, शनिबार

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ ।

नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिनुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिनुभयो ।

जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राख्नुभयो ।

नेपाल काँग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले बोल्नुभएको थियो । रासस

LIVE TV