१९ पुष २०७६, शनिबार

काठमाडाैँ, १९ पुष । आज काठमाडौं उपत्यकासहित देशैभरि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि सक्रिय पश्चिमी न्यूनचापीय वायु प्रणालीका कारण आज पनि पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी र हिमाली भेगमा हिमपात तथा मध्य पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो ।

महाशाखाका अनुसार अहिले बिहानदेखि नै ती क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना छ । आज पनि हिजोजस्तै दिनभर वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । उनीहरुले आज साँझदेखि मौसममा सुधार हुने अपेक्षा समेत लिएको बताए ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जरी गर्दै मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भेगमा व्यापक हिमपात हुँदा जनजीवन कष्टकर भएको छ । वर्षा र हिमपातका कारण कतिपय राजमार्ग र विमानस्थलसमेत अवरुद्ध भएका छन् ।

शुक्रबार सबैभन्दा बढी दिपायलमा ६२ दशमलव ३ मिलिमिटर वर्षा भएको थियाे । काठमाडौं उपत्यकामा भने ३.८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै शुक्रबार वीरेन्द्रनगरमा ३८ दशमलव ७, डडेल्धुरामा ३५ मिलमिटर वर्षा भएको छ । पोखरामा ३०, दाङमा २४ दशमलव ९ र भैरहवामा ३१ दशमलव ३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LIVE TV