१९ पुष २०७६, शनिबार

काठमाडौँ, १९ पुस । सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन् भने ठग्नेहरू धेरैजसो कम पढेका छन् ।

झन्डै पचास लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक डिपोर्ट भएर यही पुस ४ गते काठमाडौं उत्रिए। प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता दस कक्षा पास मात्रै भएको बताए। थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन्।

मानव तस्करको फन्दामा परेको कुरा सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन्।

दाङका यी युवाजस्तै मानव बेचबिखनमा पर्नेहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन्। अनौठो त यो छ कि पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडतको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन्। १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए।

ब्युरोका डीएसपी राजकुमार सिलवालले आफू यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए। उक्त अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पार्ने २२ जना पीडक समातिएका थिए। पीडित र पीडकको शैक्षिक योग्यताको तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरै शैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो।

पक्राउ परेका २२ पीडकमध्ये कसैले पनि स्नातकसम्म वा त्यसभन्दा माथि अध्ययन गरेको भेटिएन। पीडकमध्ये ६ जना एसएलसी पास देखिन्छन् भने १६ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम देखिन्छ। जबकि ठगिएका २ सय ६७ मध्ये १३ जना स्नातकोत्तर अध्ययन गरेका छन् भने १२ स्नातक, दुई स्टाफ नर्स, एक सय ३० एसएलसी, ४५ एसएलसीभन्दा तलका र ५ जना निरक्षर देखिन्छ।

यो तथ्यले पढेलेखेकाहरू मानव बेचबिखनको गिरोहमा पर्ने गरेको र तिनलाई कमजोर शैक्षिक योग्यता भएकाहरूले नै अवैध बाटोबाट विदेश पुर्‍याउने जिम्मा लगाएको देखिन्छ।

ठगिएकाहरूमध्ये २ सय ५ जना कृषि पेसाको पृष्ठभूमि भएका छन् भने १४ जना नोकरी र २८ जना व्यापारिक पृष्ठभूमिका छन्। तथ्यांकले विदेश गइसकेकाहरूभन्दा कहिल्यै विदेश नगएकाहरू ठगीको पासोमा बढी पर्ने गरेको देखाएको छ। ठगिनुअघि वैदेशिक रोजगारीमा वा अन्य सन्दर्भमा विदेश गएका ३७ जना छन् भने कहिल्यै विदेश नगएकाहरू २ सय ३० जना छन्।

मानव बेचबिखनको प्रवृत्तिमाथि अध्ययन गरेका नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका डीएसपी राजकुमार सिलवालले यो अध्ययनले कमजोर शैक्षिक योग्यता भएका एजेन्टहरूले पढालेखालाई नै झुक्याइरहेको र ठगिरहेको बताए। ‘सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन्,’ उनले भने। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

LIVE TV