१८ पुष २०७६, शुक्रबार

काठमाडौं । कानून अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ । सरदर नेपाल ल क्याम्पसमा मात्र १० हजार विद्यार्थीले आवेदन दिन्छन् । तर, सबैले अध्ययनको अबसर भने पाउँदैनन् । यो वर्षबाट ३ सय विद्यार्थीका लागि कोटा निर्धारण गरिएको छ । कानून अध्ययनका लागि सीमित क्याम्पस मात्र हुँदा विद्यार्थीले इच्छाएको विषय अध्ययन गर्न पाएका छैनन् ।

कानून अध्ययनका लागि नेपालमा सीमित क्याम्पस छन् । तिमध्ये अधिकांश क्याम्पसमा स्रोत\साधन र भवनकै अभाव रहेको छ ।

त्रिभूवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा पर्याप्त स्रोत साधन र विद्यार्थी राख्ने क्षमता नै छैन । गत वर्ष १० हजार ८ सय ६३ विद्यार्थी भर्ना भएका थिए । यस वर्षका लागि पनि दश हजार बढी विद्यार्थीले आवेदन दिएका छन् । तर, यस वर्षदेखि ३ सय जनाले मात्र पढ्न पाउने छन् ।

तर, विद्यार्थी संगठनहरुले कोटा लागु हुँदा इच्छुक विद्यार्थी धेरै छुट्न सक्ने बताएका छन् । उनीहरुले सबैले अध्ययन गर्न पाउने वातावरण बनाउनुपर्ने बताउँदै आएका छन् ।

विद्यार्थी संगठनहरुले एक महिनादेखि क्याम्पस प्रशासन, लेखा र डीन कार्यालयमा ताला लगाएरै विरोध गरेका छन् । क्याम्पसले भएका कोठाहरु समेत भाडामा लगाएको छ । विद्यार्थीहरुको आक्रोश यसमा पनि छ ।

क्याम्पस प्रशासनले भने विश्वविद्यालयले अन्य क्याम्पसलाई पनि कानूनका लागि सम्बन्धन दिए सहज हुने सुझाव दिएको छ ।

नेपाल ल क्याम्पसमा बीए–एलएलबी, एलएलबी, २ र ३ वर्षे एलएलएम विषय पढाइ हुने गर्दछ ।

LIVE TV