१८ पुष २०७६, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको आजको हेटौंडामा बसिरहेको बैठक भोलि पनि बस्ने भएको छ ।

मुख्यमन्त्री निवासमा अपरान्ह करीब २ बजेदेखि सुरु आजको बैठकमा १७ जना प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।

बैठकको शुरुमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामाकरणको विषयमा नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई कदर गरेर अघि बढ्नु पर्ने धारणा राखेका छन् ।

आगामी पौष २२ गतेभित्र प्रदेशसभाको सबै प्रक्रिया पूरा गरेर राजधानी र नामको विषयलाई टुंगो लगाईने प्रदेश ३ सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले न्यूज २४ टेलिभिजनलाई बताएका छन् । बैठक भोल बिहान ११ बजे पुनः बस्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले गत आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा मत देखिएको छ । सो पार्टीका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दहालले सचिवालयको सुझाव कार्यान्वयन गर्न निर्देशन समेत दिईसकेका छन् ।

नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले समेत गरिसकेको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो काठमाडौंमा बसेको थियो ।

LIVE TV