१८ पुष २०७६, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १८ पुष । कपिलवस्तु क्षेत्र नम्बर ३ का संघीय सांसद अभिषेक प्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दायर भएको छ ।

गत पुष ५ गते कृष्णनगरका स्थानीय समाजसेवी श्याम मिश्रलाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

शाहविरुद्धको जाहेरी जिल्ला प्रहरीले दर्ता गरी पक्राउपूर्जी जारी गरेको हो । प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लका अनुसार मुद्दा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराउने र अदालतको आदेशपछि पक्राउपूर्जी जारी हुने कानूनी प्रावधान अनुसार पक्राउपूर्जी जारी गरेको हो ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार सांसद शाहले ज्यान लिने मनसायले कुटपिट गरेको देखिएकाले मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता भएपछि पक्राउपूर्जी जारी गरिएको उनको भनाइ छ ।

सांसद शाहले पटक–पटक विभिन्न काण्ड मच्चाएपनि उनीविरुद्ध पक्राउपूर्जी जारी भएको यो पहिलो पटक हो । तीनपटक सांसद बनिसकेका शाहले तीन पटक नै पार्टी पनि परिवर्तन गरेका थिए । पछिल्लो पटक उनी नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका छन् ।

शाहले राप्रपाका जिल्ला नेता एवं भोजपुरी फिल्मका अभिनेता मिश्रलाई आफ्ना ड्राइभर मार्फत घरमा बोलाएर निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । यसरी निर्घात कुटपिटपछि गाडीमा राखेर बीच सडकमा लगेर छाडेका थिए ।

गम्भीर घाइते मिश्रको उपचार बुटवलमा गरिएको थियो । कुटपिटपछि सांसद शाहले मिश्रको मुखमा रक्सी हालेर पेस्तोल ताक्दै ‘तेरो ज्यान लिन सक्छु’ भनेका थिए । अहिले सोही शब्द पीडित मिश्रका दिमागमा घुमिरहेको छ ।

मिश्रका अनुसार यो घटना पुस ५ गते साँझ ५ बजेको हो । सांसद शाहले घटनालाई मोड्नका लागि अभिनेता मिश्रले मादक पदार्थ सेवन गरी झगडा गर्न आएको दाबी गर्दै आएका छन् ।

सांसद शाहको दादागिरीविरुद्ध कृष्णनगरमा दैनिक प्रदर्शन र यातायात बन्दका घटना निरन्तर बढ्न थालेको छ । अहिले सांसद शाहले कृष्णनगर छाडिसकेका छन् ।

LIVE TV