१८ पुष २०७६, शुक्रबार

काठमाडौँ, १८ पुष । नेकपा नेता एवं सचिवालय सदस्य बामदेव गौतमले आफू प्रधानमन्त्री बन्न सक्नेगरी संविधान संशोधन गर्न गरेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएपछि राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गर्नुभएको बताइएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गर्दा उहाँले अस्वीकार गर्नुभएको बताइएको छ । उहाँले बैठकमा संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बनाउने भएमात्रै राष्ट्रियसभामा जाने अन्यथा नजाने बताएपछि अध्यक्ष ओलीले असम्भव हुने जवाफ दिनुभएको बताइएको छ ।

अध्यक्ष दाहालले समेत नेता गौतमको प्रस्तावमा पहिला नै सर्त राखेर जानु उपयुक्त नहुने तर सल्लाह गरेर प्रयास गर्न सकिने जवाफ दिनुभएको बताइएको छ । वामदेवको राष्ट्रियसभामा नजाने अडानलाई यथावत राख्दै नेकपाले शुुक्रवार राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवार छनोट गरेको छ।

राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार तय गरेको हो ।

LIVE TV