१८ पुष २०७६, शुक्रबार
  • घनश्याम मिश्र

धनुषा, १८ पुष सभासदहरुको रकम भुक्तानी सम्बन्धी निर्णय हुन नसक्दा प्रदेश सभा २को बैठक सूचना टाँसेर २४ गते सम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाको बैठक बिहीवारका लागि निर्धारण गरिएको थियो । तर सभासदहरुको रकम भुक्तानीको विषयमा सरकारले ठोस निर्णय गर्न नसकेको कारण बैठक सारिएको बताइएको छ ।

प्रदेश सभाको समितिले छानविन गरी दिएको प्रतिवेदन अनुसारको रकम भुक्तानी गर्न प्रदेश सरकारमाथि सभासदहरुले दवाव बढाएका छन् । तर प्रदेशका मन्त्रालयहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राय नपठाएको कारण प्रकृया अगाडी बढन सकेको छैन ।प्रदेश सभाले ८७ करोड रकम भुक्तानीका लागि सिफारिस गरेको छ ।

उक्त रकमको काम गत आर्थिक वर्षमा नै भएपनि भुक्तानी हुन सकेको छैन । भुक्तानी हुन बाँकी रहेको रकममा सभासदहरुको विकास कोषको रकमपनि अत्यधिक छ । पुस मध्यमा नै सभासदहरुको रकम निकासा भएपनि उनीहरुले अन्तिम समयमा उपभोक्ता समिति गठनगरी काम गराएकाले मुल्यांकन हुन नसकेर भुक्तानी रोकिएको हो।

अन्य प्रदेशहरुमा प्रदेश सभाको पाँचौ सत्र सुरु भएपनि प्रदेश २ मा तेस्रो अधिवेशन नै जारी छ ।गत वर्ष सुरु भएको हिउँदे अधिवेशन अहिलेपनि निरन्तर छ ।झण्डै डेढ महिनापछि गत सोमवार बसेको प्रदेश सभा बैठक सभासदहरुले अबरुद्ध गरे ।

सरकारले रकम भुक्तानीको प्रतिबद्धता नजनाएसम्म प्रदेश सभा सञ्चालन हुने अवस्था नरहेको नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जनाए ।‘प्रदेश सभामा मुख्यमन्त्रीले भुक्तानी सम्बन्धमा प्रष्ट जवाफ दिनुपर्छ’उनले भने, मुख्यमन्त्री उपस्थित भएर जवाफ नदिए सम्म बैठक सुचारु हुन सक्दैन ।

यता योजना अनुसारको विकाष कार्यमा प्रत्यक्ष संलग्न उपभोक्ता समितिहरुले पनि प्रदेश नं २ प्रदेश सभा भवन अगाडि विरोध जनाएका छन् ।

LIVE TV