१८ पुष २०७६, शुक्रबार

टोरोन्टो, १८ पुष । क्यानडाबासी नेपालीहरुले अंग्रेजी वर्ष २०२० लाई स्वागत गर्दै नेपाली टोपी दिवस मनाएका छन् ।

टोरोन्टो, ब्राम्पटन र मिसिसागामा एनआरएनए क्यानडा र विभिन्न स्थानीय संघसंस्थाहरुको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० को पनि व्यापक प्रचारप्रसार गरिएको छ । यस्तै अन्य सहरहरुमा पनि विभिन्न प्लेकार्ड र व्यानरका साथमा नेपाल भ्रमण वर्षको प्रचार प्रसारसंगै नेपाली टोपी दिवस मनाइएको छ ।

टोरोन्टोको अति व्यवस्त मानिएको डण्डास क्वायर क्षेत्रमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली झण्डा र व्यानर फहराउदै नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरे । कार्यक्रमलाई एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, महासचिव पिताम्बर भट्टराई, उपाध्यक्ष हेमन्त थापा, उज्वल लगायत संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

यसअघि एनआरएन क्यानडा, नेपाली साहित्य समाज क्यानडा, एनसीसी एसीसी (कम्युनिटी हाउस) र कास्की समाज क्यानडाको संयुक्त आयोजनामा ब्राम्पटन मिसिसागामा पनि सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश मनाइएको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्कने खालका पहिरन र नेपाली टोपीसहित सहभागीहरुले नेपाली टोपीको महिमा र नेपाल भ्रमण वर्ष २०२० को विषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि अन्टारियो मिनिष्टर परममित सरकारिया र विशेष अतिथि एम.पी.पी दीपक आनन्दले उक्त कार्यक्रमलाई सम्बोेधन गरेका थिए ।

LIVE TV