अमेरिकी हवाइ आक्रमणमा इरानी विशेष सैन्य दस्ताका कमाण्डर मारिए



प्रकाशित मिति : Jan 03, 2020

एजेन्सी, १८ पुष । अमेरिकाले गरेको हवाइ आक्रमणमा इरानी विशेष सैन्य दस्ता प्रमुख जनरल कासिम सोलेमानी मारिएका छन् ।

जनरल सोलेमानी इराकस्थित बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलेमानीमाथि आक्रमण गरिएको जनाएको छ ।

सन् १९९८ देखि मेजर जनरल सोलेमानीले इरानको कुद्स फोर्सको नेतृत्व लिएका थिए । उनले सिरियाली गृहयुद्धमा बशर अल–असादको इरानी समर्थित सरकार र इराकमा इस्लामिक स्टेट (आईएस) समूहकाविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेका थिए । जनरल सोलेमानी इरानी शासनमा दोस्रा शक्तिशाली व्यक्ति मानिन्छन् ।

के भन्छ इरान ?

इरानले पनि सेनाका प्रमुख जनरल साेलेमानीलाई अमेरिकी हेलिकप्टरले आक्रमण गरेर मारेको बताएको छ । इरानी टीभीले सो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल-मुहान्दीस पनि मारिएको समाचार प्रसारण गरेको छ ।

समाचारहरूमा अमेरिकी सेनाले इराकका केही विद्रोही नेताहरूलाई नियन्त्रणमा लिएको भनिए पनि त्यसको पुष्टि भएको छैन । बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिकी सेनासँग मुठभेड भएको केही दिनपछि नै यो आक्रमण भएको हो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले बिहीवार बेलुकी राजदूतावासको घटनाका लागि इरान जिम्मेवार रहेको बताउँदै अमेरिकी नागरिकमाथिको आक्रमण नसहने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com