१७ पुष २०७६, बिहीबार
  • रोशन दानी,

काठमाडौं, १७ पुष । महानगरीय प्रहरी आयुक्त रानी पोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले समूदायसँग प्रहरीले हरेक कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

साथै उहाँले गलत फाइदा उठाउनका लागि कानून हातमा लिएर अराजक गतिविधि गर्ने जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटी, सामुदायिक सेवा केन्द्र कुलेश्वरको सह–आयोजनामा भएको शान्ति सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तक्रिया कार्यक्रममा बाल्दै उहाँले प्रहरीको व्यवहार र आचरण सुधार गर्न लागिपरेको बताउँदै आफ्नो मातहतका कार्यालयका कुनै पनि प्रहरीले कानून हातमा लिएर अराजक गतिविधि गर्न खोज्छ भने कुनै हालतमा नछाड्ने बताउनुभएको हो ।

प्रहरी नायब महानिरीक्षक पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने र नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी शान्ति सुरक्षामा खट्ने बताउनुभयो ।

सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफल बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने उहाँले बताउनुभयो ।

महानगरीय प्रहरीको जिम्मेवारी पाउनु अवसर र चुनौति दुवैको रूपमा लिएको बताउँदै उहाँले उपत्यकालाई शान्ति सुरक्षा कायम गर्नका लागि रातिको समयमा आफै पनि खटिदै आएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूको जिज्ञासा मेटाउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले ‘समुदाय प्रहरी, साझेदारी कार्यक्रम’ले शान्ति सुरक्षामा उपलब्धि हाँसिल गरेको घटनाको स्मरण गराउनुभयो ।

त्यस्तै नागरिककै सूचनाका आधारमा अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुनाले समयमै सूचना दिन आग्रह समेत गर्नुभयो ।

LIVE TV