अनु अधिकारी : जसले १ अंक नगुमाई मुलुकलाई दिलाइन गर्विलो स्वर्ण (भिडियो)



प्रकाशित मिति : Dec 31, 2019

काठमाडौं । हरेक प्रतिकुल परिस्थितिमा निस्कने शब्द हो आमा । मानिसमा मात्र नभई अन्य प्राणीहरुमा समेत आमाप्रति लगाव उच्च पाइन्छ ।

आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्च स्थानमा राखेर व्याख्या गरिएको छ । माताप्रतिको प्रेम मनुष्य जातिमा मात्र सीमित नरही चराचर जगतका प्रत्येक प्राणीमा उत्तिकै हुन्छ ।

अनुलाई अमूल्य छोरी बनाउन आमा लक्ष्मीको भूमिका

आफ्ना आवश्यकता भन्दा पनि सन्तानको खुसीको खातिर सधैभर समर्पित बनिरहने आदर्श हुन् आमा । यस्तै सर्वोहितकारी आमा हुन, लक्ष्मी अधिकारी अर्थात १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत कराते तर्फबाट स्वर्ण जित्न सफल अनु अधिकारीकी आमा पनि ।

नुवाकोटमा जन्मिएकी लक्ष्मी अधिकारी माता कमला ढुङ्गानाको सन्तान हुन् । बालापन देखि नै आमाको स्नेह र ममत्व पाउन नसकेकी उनी आमाको परिभाषालाई यो नै हो भन्ने बुझ्न सकिनन् ।

बालापनमा नै आमाले आफु, बुबा र घरपरिवारलाई छाडेर गए अन्त कत्तै गएपछि उनलाई आमाको सुखद् मातृत्व महसुस समेत हुन सकेन । आमाको स्वभाव कस्तो थियो, उनलाई त्यसको कुनै अन्दाज समेत छैन ।

आमाको साथ विना सुखद् बालापनको महसुस गर्न नसकेकी उनलाई आमाको धेरै सम्झना आएको कुनै त्यस्तो क्षण पनि छैन । तर मुस्किलले सम्झिइन् भने पनि आमा मृत्यु शैयामा छट्पटिएको बेलामा भएको केही सम्वाद भने उनको मानसपटलमा धमिलोरुपमा भए पनि ताजा छ ।

त्यसैले पनि उनले आफ्ना सन्तानका लागि स्नेहको कसुर छाडिनन् । १३ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनले असल जीवन साथीको साथ पाए पनि केही अभाव भने महसुस गर्नु प¥यो । सानै उमेरमा विवाह गरेकी उनलाई जीवन यात्रा अघि बढाउन केही संघर्ष पनि गर्नु प¥यो ।

गाँउ छाडेर सन्तानको सुखद् भविष्यलाई मध्यनजर गरी काठमाडौँ आएका यो अधिकारी परिवारलाई काठमाडौँमा धेरै कठिनताहरुसंग संघर्ष पनि गर्नु प¥यो ।

सन्तानको उज्ज्वल भविष्यको लागि उनीहरुले धेरै मेहेनत गरे । संर्घषको प्रतिफल सर्वोत्तम हुन्छ भने जस्तै भयो उनीहरुको जीवनमा । साच्चै मेहेनतको फल प्राप्त गरिरहेका छन् अहिले यो अधिकारी परिवारले ।

सन्तानको खुशीको खातिर उनीहरुले ऊनको धागो बनाउने काम समेत गरे । धेरै जस्तो त बुबालाई छोरा छोरीले भेट्दै भेट्दैनथे । कति भोक कति प्यास तर सन्तानको सपनासंगै बेचे अधिकारी दम्पत्तिले सन्तानका लागि भनेर उनीहरुले गरेको दुःख पनि खेर गएन अन्ततः ।

आफ्नो अभिभावकले आफुहरु प्रति गरेको लगानी खेर जान दिएनन् छोराछोरीले पनि । छोरा छोरीले आफ्नो पढाई सके पछि आफ्नी आमालाई समेत पढाए । जेठी बुहारीलाई भित्र्याएर उनले स्कले जीवनको सुरुवात गरेकी थिइन् । छोराछोरीसंगै बुहारीले समेत पढ्नलाई मद्दत गरे ।

१२ वर्षको उमेरदेखि खेल जीवनतर्फ आकर्षित बनेकी अनु र उनका कान्छा दाईसंगै कराते खेल्ने जान थाले । उमेरले सानै र धेरै संघर्ष हुने भएपछि अनुले आमाकै आग्रहमा कराते छाडेकी थिइन् । तर उनको खेलप्रतिको चाहनाको अगाडि मातृप्रेमले छेक्न सकेन । उनीलगातार खेलमा नै समर्पित बनिरहिन लगनशील बनेर । जसको प्रतिफल हो १३ औं दक्षिण एसियाली खेलकुद सागमा उनले राष्ट्रका लागि जितको स्वर्ण ।

छोरीले जितेको खेल पनि हेर्न डराइन आमा लक्ष्मी

खेलमा हार जित हुन सक्छ भन्ने कुरामा ढुक्क थिइन् अनुकी आमा । तर पनि आफ्नो मन उनले सम्हाल्न सकेकी थिइनन् ।

उनले छोरीको खेल हेर्न खेल स्थानमा पुग्ने हिम्मत जुटाउन सकिनन् । टिभीमा खेल हेर्दै छोरीको जितको लागि प्रार्थना गरेर बसिन् । अन्त्यमा छोरीले जितेको भाव उनी साट्नै सक्दिनन् । त्यो खुशी सम्हाल्न नै गाह्रो परेको थियो उनलाई ।

आमा भगवान हुन अनुका लागि

अनुको नजरमा आमा देवी हुन जस्लाई देवी देवतासरह दिनहुँ पूजा गरिन्छ । जसले सन्तानका निम्ति कुनै कानून बनाउदिनन् । सन्तानलाई एउटा पंक्षी जस्तै स्वतन्त्र, नदी जस्तै कञ्चन राख्न चाहन्छिन्, कठिन भन्दा कठिन परिस्थिमा पनि सन्तानको लागि मुस्कुराउन र अन्यको ओठमा मुस्कान ल्याउन सफल अदम्य शक्ति भएकी महामाया जगत जननी हुन्, आमा ।

तीन मध्येकी कान्छी सन्तान अनु ज्ञानी थिइन् । हुने विरुवाको चिल्लो पात भने जस्तै पढाई र व्यवहारिक पाटोका समेत अब्बल थिईन् अनु । तीनै सन्तानले परिवारलाई खुशी दिएपनि अनुले अधिकारी परिवारका लागि नै गर्व गर्न लायक सुवास छरेकी छिन् ।

करातेमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल जित्ने खेलाडी अनु

१३ औं सागमा नेपाललाई पदक तालिकामा समग्ररुपमा दोस्रो स्थानमा उभ्याउन गतिलो योगदान गर्ने हस्ताक्षर हुन अनु अधिकारी । मार्सलआर्टमा रहेको नेपालको दम्भ र हैसियतमा एक इन्च पनि आँच आउन नदिइ अनुले जितेको स्वर्णसंगै उनकी आमा, उनका परिवार मात्र नभइ सिंगो मुलुक पनि रमायो ।

मुलुकको प्रतिष्ठा गाँसिएको खेल क्षेत्रमा अनुको अदम्य साहस पनि उनले जितेको स्वर्ण जस्तै स्वर्ण अक्षरले लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com