जारी ए डिभिजन लिग आकर्षक हुन्छ भन्ने आशा छ : विज्ञानराज शर्मा, संयोजक, लिग कमिटी



प्रकाशित मिति : Dec 25, 2019

काठमाडौं, ०९ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपालको सर्वाधिक महत्वको र पुरानो फुटबल लिग ‘शहीद स्मारक ए डिभिजन फुटबल लिग’ चलिरहेको छ । गत मंसिर २८ गतेबाट सुरु भएको लिगमा नेपालका १४ वटा ए डिभिजन क्बलहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

लामो समयसम्म रोकिएको लिग गत वर्ष रेलिगेशन नहुने प्रावधानसहित सञ्चालन भएको थियो । तर, अहिले रेलिगेशनसहितको लिग सञ्चालन भइरहेको छ । नयाँ खेलाडी उत्पादन गर्ने, नयाँ च्याम्पियन उदाउने घरेलु स्तरको लिगबाटै हो ।

तर, लामो समयदेखि घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि लिग रोकियो, र कतिपय खेलाडीहरुले आफ्नो क्षमतासमेत देखाउन पाएनन् । गत वर्षदेखि गति लिएको लिगमा अहिले पूराना र थुप्रै नयाँ खेलाडीहरुले अवसर पाइरहेका छन् ।

राष्ट्रको सबै भन्दा ठूलो ए डिभिजन लिग कसरी सञ्चालन भइरहेको छ ? लिगको व्यवस्थापन कसरी भइरहेको छ ? यसको रौनक कतिको छ ? भन्ने विषयमा न्यूज २४ टेलिभिजनले शहीद स्मारक ए डिभिजन लिग कमिटीका संयोजक विज्ञानराज शर्मासँग विशेष कुराकानी गरेको छ ।

कुराकानीको सुरुवातमा संयोजक शर्माले भन्नुभयो, ‘फुटबलको लिग भन्नाले फुटबल विकासको एउटा आधार स्तम्भ हो, फाउण्डेशन हो । लिगको मर्म चाँही रेलिगेशन हो । प्रोमोशन र रेलिगेटेड हुने हो । ‘बी’ डिभिजनबाट माथि जाने, ‘सी’ डिभिजनबाट ‘बी’मा झर्ने, ‘बी’ डिभिजनबाट ‘ए’मा झर्नु नै यसको मुलमर्म हो ।’

उहाँले फेरि भन्नुभयो, ‘गतवर्ष चाँही रेलिगेशन विनाको लिग सञ्चालन भयो । थुप्रै कुराहरु आए । लिगमा रेलिगेशन बिना कसरी हुन्छ ? भन्ने कुराहरु आइसकेपछि पाँच वर्षदेखि रोकिएको लिगलाई पुनः सञ्चालनमा ल्याउनुपर्छ भन्ने एन्फाले निर्णय लियो ।’

यसैबीच अहिले सञ्चालन भइरहेको लिग टुर्नामेन्टमा १४ वटा क्लबहरु रहेको उहाँले बताउनुभयो । उनले भन्नुभयो, ‘देशभरका सर्वाधिक, राम्रा खेलाडीहरुसहितको यो लिग टुर्नामेन्ट आकर्षक हुन्छ भन्ने मैले आशा लिएको छु ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com