रहस्यमय बन्दै गोरुसिंगे हत्याकाण्ड, अनुसन्धान गर्न सिआईबी टोली घटनास्थलमा



प्रकाशित मिति : Dec 15, 2019
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २९ मंसिर । पुर्व-पश्चिम राजमार्गस्थित बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेमा भएको हत्याकाण्ड रहस्यमय बन्दै गएको छ ।

गत मंसिर १३ गते धनराज पौडेल विभत्स रुपमा हत्या गरिएको अवस्थामा फेला परेका थिए । घटना भएको २ साता बढी हुन लाग्दा पनि हत्याबारेका कुनै तथ्य बाहिर आउन सकेको छैन । त्यसैकारण घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ ।

हत्या रहस्यमयी बन्दै गएपछि चुरो पत्ता लगाउन सिआईबीका निरिक्षककाे नेतृत्वमा ३ सदस्यीय टोली गतआईतावार जिल्ला आएको हो । उनीहरुले सोमबारबाटै अनुसन्धान थालेका छन् । यसअघि उक्त घटनाको ईप्रका गोरुसिंगेका निरीक्षक सुभाष खड्काको नेतृत्वमा अनुसन्धान टोली बनाइएको थियो । दुबै टोलीले आआफ्नो तरिकाले अनुसन्धान गरिरहेका छन् ।

सिआईबी टोलीले घटनास्थलको निरीक्षण, परिवार, आफन्त र छिमेकसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुले घटनाको प्रकृति र अवस्था, श्रीमान-श्रीमतीको सम्बन्ध र घटनाका अन्य कुरालाई जोडेर अध्ययन थालेको छ ।

हत्या आरोपमा मृतककी बुहारी लक्ष्मी पौडेल पक्राउ परेकी छिन् । उनमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । उनले घटनामा आफू संलग्न नरहेको बताउँदै आएकी छिन् ।

पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । १३ गते दिउँसो घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटनाबारे थाहा पाएको थियो । हत्या लक्ष्मीले नै गरेको मृतकका परिवारहरुको आरोप छ ।

घटनाका बेला दुबई रहेका मृतकका छोरा शंकरले बुवाको हत्या श्रीमतीको संलग्नतामा हुन सक्ने आरोप लगाएका छन् । घटना थाहा पाएर घर फर्केका उनले श्रीमतीले आफुसँग निहुँ खोज्ने र दिनहुँ झैझगडा भइरहने गुनासो गरे ।

परिवारका अनुसार घटनाकाे दिन लक्ष्मी र मृतक पौडेल घरमै थिए । धारिलो हतियार प्रयोग गरेर पौडेलको हत्या भएको देखिएकाे छ । प्रयोग गरिएको हतियारको फिङ्गर प्रिन्ट परिक्षणका लागि काठमाडौं पठाईएको छ ।

मृतकको शव क्षतविक्षत अवस्थामा थियो । हत्यापछि लक्ष्मीले नै ससुरा हराएको र घरमा चोर आएको भन्दै प्रहरीमा जानकारी गराएकी थिईन् । मृतकका आफन्तले गरेको फोन नलागेपछि खैलाबैला मच्चिएको थियो । खोजबिन गर्दा पौडेल घरकै टीबी कोठामा विभत्स रूपमा हत्या गरिएको अवस्थामा भेटिएका थिए । शवलाई सिरक, ब्ल्याङकेट ओढाइएको थियो । त्यही कपडाका बीचमा बुहारी लक्ष्मीको मोबाईल समेत भेटिएको थियो ।

घटनाको एक दिनअघि काठमाडौं जान हिँडेकी लक्ष्मी गोरुसिंगेमा रहेको ईटालियन होटलमा अर्को नाम गरेर बसेको भेटिएको छ । उनी होटलमा बस्दा अपरिचित पुरुष पनि आएर भेटघाट गरेको देखिएको छ । ती पुरुषले लक्ष्मीको सानो २ वर्षको छोरालाई समेत होटलमा ल्याएका थिए ।

स्टाप नर्स पढेकी लक्ष्मीकाे पैसाका विषयमा श्रीमान र परिवारसँग बारम्बार किचलो हुने गरेको थियो । छिमेकीहरुले घटनामा लक्ष्मीकै प्रत्यक्ष संलग्नता रहेको बताएका छन् । पौडेलको घाटी, टाउको, पेट र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाे थियो । उनी अर्घाखाँचीबाट बसाइ सरेर गोरुसिंगे आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com