प्रहरी कार्यालय अगाडिनै गाँजा खेती, रिपोर्टिङ गरेपछि फाँड्यो, अख्तियारको कर्मचारी यस्तो दादागिरी (भिडियो)



प्रकाशित मिति : Dec 14, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ :

१. पैसा तिर्न नसक्दा सुत्केरी महिला अस्पतालमै बन्दी, श्रीमतिलाई डिस्चार्ज गर्न भिख माग्दै श्रीमान !

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् ।

एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो ।

उनका परिवारले ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरेर १ लाख ७४ हजार रुपैयाँ बुझाएपनि अस्पतालले अझै ३ लाख ५० हजार रुपैयाँ बाँकी रकम तिरेपछि मात्रै डिस्चार्ज गरिदिने भन्दै रोकेको छ ।

२. प्रहरीकै संरक्षणमा गाँजा खेती !

रौतहट । गाँजा तस्कर तथा लागूऔषध सेवन गर्ने हरुलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारहरु बेला–बेला आई रहन्छन् ।

स–साना परिमाणको गाँजासमातेर प्रचार गर्ने प्रहरीको आँखै अगाडि भइरहेको गाँजाको खेतीलाई देखेर पनि नदेखे जस्तो गरिरहेको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित पेटभर्वा गाउँमा रहेको एक मठको प्राङ्गणमै गाँजाको खुलेआम खेती भइरहेको छ । तर, प्रहरीको त्यसतर्फ अहिलेसम्म आँखा पुगेको छैन ।

गाँजा खेती भइरहेको उक्त जग्गा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाबाट पश्चिम ५०० मिटरको दूरीमा अवस्थित छ, जहाँ सोही गाउँका जोगी तेजीलाल दास बैरागीले १ कठ्ठाभन्दा बढी जग्गामा गाँजा खेती गरेका छन् ।

३. अख्यितार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका शाखा प्रमुख गैरेद्वारा सडक निर्माणमा अवरोध

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा बहालवाला अख्यितार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका शाखा प्रमुख गणेश गैरेले सडक निर्माणमा अवरोध गरेको स्थानीयले गुनासो गरेका छन् ।

संघीय मन्त्रालय अन्तर्गत शहरी बिकासबाट १४ करोडको बजेटमा तिलोत्तमा वडा नम्बर–८ र ९ जोड्ने बाटोको कल्भर्ट निर्माणका क्रममा एक छेउमा गैरेको जग्गा परेपछि डेढ महिनादेखि कल्भर्ट निर्माण गर्न रोक्का भएको स्थानीयको गुनासो छ ।

सडकको अन्यत्र भागमा नाली निर्माणको सम्पन्त्र भइसक्यो तर, गैरे जग्गाको परेको ठाउँमा अर्को सहायक सडक पनि परेकाले कल्र्भट निर्माण गर्नुपर्ने भएकाले दुबै तिर १.३ फिट बढी जग्गा लिएर कल्भर्ट बनाउन लागिएको टोल विकास समितिका अध्यक्ष विष्णु पाण्डे बताउँछन् ।

४. जिल्ला प्रशासन कार्यालयकै अगाडि दर्जनौं अबैध शैक्षिक संस्था, कारवाही गर्ने प्रशासन निरिह

हेटौडा । मकवानपुरको सदरमुकाम हेटौँडामा जिल्ला प्रशासन कार्यालयकै अगाडि गैर कानूनी रुपमा २ दर्जन बढी शैक्षिक संस्थाहरु सञ्चालनमा छन् ।

कानून विपरित सञ्चालन भएका शैक्षिक संस्थाहरुको गतिविधि रोक्न निर्देशन दिदै जिल्ला प्रशासन कार्यालयले पटक–पटक सूचना जारी गर्ने र पत्र काट्ने बाहेक अन्य केही कारवाही गर्न सकेको छैन ।

अनुमति नलिई कुनैपनि शैक्षिक गतिविधि सञ्चालन नगर्न र त्यस्ता शैक्षिक संस्था अबैध हुने भन्दै जिल्ला प्रशासन कार्यालयले पटक–पटक सूचना जारी समेत गरेको थियो । तर प्रशासनको सूचनालाई कसैले टेर्दै टेरेनन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com