कर्णाली करिडोरले पूर्व कर्णाली अञ्चलवासीमात्र नभई समग्र कर्णाली प्रदेशको मुहार फैर्दै (भिडियो)



प्रकाशित मिति : Dec 10, 2019

१.कर्णाली करिडोरले पूर्व कर्णाली अञ्चलवासीमात्र नभई समग्र कर्णाली प्रदेशको मुहार फैर्दै

कर्णालीको भाग्य कोर्ने र भविष्य फेर्ने आशाका साथ निर्माण थालिएको कर्णाली करिडोरप्रति आम कर्णालीवासी आशावादी छन् ।

प्राकृतिक र भौगोलिक सबै पक्षमा सम्पन्नशाली भएपनि सडक सुविधा र विकासको पछिल्लो प्रविधिको अभावमा कर्णाली क्षेत्रले लामो समय देशभित्र अलग व्यवहार भोग्नु परेको थियो ।

एक समय कर्णाली अञ्चल भित्र समेटिएका ५ जिल्लालाई सम्बोधन गरेर कर्णालीवासी भन्ने गरिए पनि अहिले यो नाम प्रदेश नम्बर ६ को नै नाम बन्न पुगेको छ ।

यद्धपि कर्णालीवासी भनेर अझै पनि त्यही ५ जिल्लाकालाई हेर्ने चलन अझै विद्यमान छ । तर, अब कर्णाली करिडोरले कर्णालीका पूराना पाँच जिल्ला मात्र नभई समग्र कर्णाली प्रदेशको रुप नै नयाँ बनाउने विश्वास गरिएको छ ।

करिडोर भारतको रुपेडियाबाट कर्णाली प्रदेशका बिभिन्न जिल्ला छिचोलेर चीनको सीमामा नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगत कर्णाली करिडोरको निर्माणले कर्णाली र बाजुरा जिल्लाका स्थानीयवासी विकासमा जोडिने आशाले खुशी भएका छन् ।

सडक सञ्जाल जोडिएसंगै यहाँका स्थानीयवासीमा बिरामी हुँदा अकालमा ज्यान गुमाउँनु नपर्ने भो भनेर हर्षित पनि बनेका छन् भने खच्चर, घोडा र मानिसले बोकेको भरमा खाद्यान्न लानु पर्दा भोग्नु पर्ने अभावको तनाव पनि हट्ने भएको छ ।

२.यार्सागुम्बाको मूल्य एकैपटक किलोमा १० लाख घटेपछि बझाङका यार्सा संकलक निराश

गत बर्ष १७ लाख २० हजार प्रतिकिलोको दरले यार्सागुम्बा बेचेका बझाङवासीहरु यसबर्ष एकाएक प्रति किलो ७ लाख मूल्य निर्धारण गरिएपछि निराश बनेका छन् ।

आफ्नो जीविकोपार्जन नै यार्सागुम्बाबाट चलाउँदै आएका बझाङवासीहरु एकाएक यसबर्ष मूल्य घटाइएपछि यार्सागुम्बा बेच्न भन्दा घरमा नै थन्क्याएर राख्न विवश बनेका छन् ।

यार्साको मूल्य कस्ले र किन घटायो भन्ने बारेमा यार्सागुम्बा व्यापारीहरु नै जानकार छैनन् । ज्यानको नै बाजी राखेर यार्सा संकलन गर्दै आएका बझाङवासीहरु यार्साको मूल्य र यार्सा संकलनबाट भविष्य नदेखेर वैदेशिक रोजगारीमा धमाधम जान थालेका छन् ।

मेहनत अनुसारको फल नपाएको भन्दै उनीहरुले स्थानीय सरकारलाई पनि यसबारे गम्भीर बनिदिन आग्रह गरेका छन् ।

३.महिला र पुरुष मजदूरबीच कायम ज्याला विभेद हटेन, महिला मजदूर जताततै मारमा

महिलामाथिको हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । तर महिलामाथिको हिंसा मात्र नभई महिलामाथि बिभिन्न कोणबाट हुने विभेदहरु पनि अन्त्य हुन सकेको छैन ।

अहिले विकास निर्माणको काममा महिलाहरु पनि सक्रिय छन् मजदूरको रुपमा भए पनि कतिपय ठाउँमा । तर उनीहरुलाई दिइने दैनिक ज्याला भने पुरुषको तुलनामा आकाश जमिन फरक छ । डडेल्धुरामा ज्याला विभेद कायम रहँदा यसबारे अब भने आवाज उठ्न थालेको छ ।

पुरुष सरह दैनिक ८ घण्टा काम गर्दा पुरुषलाई ६ सय दिने गर्दा महिलाहरुलाई भने ५ सय मात्र दिइने गरिएको छ । त्यो पनि काम गरेको २/३ महिना पछि मात्र । ठेकेदारहरुको यो शैलीप्रति महिलाहरु बोल्न नसके पनि स्थानीय तहले बोलिदिनु पर्ने आवाज उठ्न थालेको छ ।

डडेल्धुरामा ७ स्थानीय तहमा निर्वाचनको ताका महिला र पुरुषको समानताको बारेमा धेरै नारा घन्कियो । तर, निर्वाचन सकिए पनि त्यो समानताको नारा कता हरायो त्यो भने खोज्ने अवस्था आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com