मलेसियाले माग्यो ३१ हजार बढी कामदार, कुन क्षेत्रमा कति कामदारको माग छ ?



प्रकाशित मिति : Dec 03, 2019

काठमाडाै‌ । मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो ।

दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो । नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ ।

औद्योगिक क्षेत्रका १७ हजार ११६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३, कृषि क्षेत्र एक हजार ४७५, ‘प्लान्टेसन’ एक हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ । मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com