नेपालमै पहिलो होमस्टे सञ्चालन गर्ने स्याङ्जाको वालिङ वहुमुखी क्याम्पसको पाठ्यक्रममा होमस्टे विषय थपियो (भिडियो)



प्रकाशित मिति : Nov 26, 2019

१. नेपालमै पहिलो होमस्टे सञ्चालन गर्ने स्याङ्जाको वालिङ वहुमुखी क्याम्पसको पाठ्यक्रममा होमस्टे विषय थपियो

गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशमा १ हजार होमस्टे सञ्चालनमा ल्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

हुनत नेपालमा नै पहिलो पटक गण्डकी प्रदेश अन्र्तगतको स्याङ्जाबाट सुरु भएको होमस्टे संस्कार अहिले गण्डकी प्रदेशमा मात्र नभइ देशभर फैलिएको छ ।

आन्तरिक र वाह्य दुवै पर्यटकले रुचाएको होमस्टे धेरै स्थानमा थपिने क्रम पनि बढ्दो छ । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा १ हजार होमस्टे सञ्चालनमा ल्याउने उद्घोष गरेपछि यसलाई सार्थक तुल्याउन नेपालकै पूरानो मध्येको एक वालिङ वहुमुखी क्याम्पसमा स्थानीय पाठ्यक्रममा नै होमस्टे सम्बन्धि विषय पनि थप गर्ने तयारी थालेको छ ।

१ हजार होमस्टे व्यवस्थितरुपमा सञ्चालन गर्न ५ हजार बढी जनशक्तिको आवश्यकता पर्छ नै त्यसैलाई मध्यनजर गरेर क्याम्पसले होमस्टे विषय अध्यापन गराउने सुरसार कसेपछि यस क्षेत्रका विद्यार्थी पनि उत्साहित बनेका छन् ।

२. १६ सय बर्ष अघिदेखि नाँच्न थालिएको मुस्ताङको देव नाँचको संरक्षणमा जुटे

हिमाल पारिको जिल्ला मुस्ताङको देव नृत्य अर्थात लामा नृत्य कति बर्ष पूरानो हो किटेर भन्न सकिने अवस्था त छैन । तर स्थानीय अगुवा लामाहरु यो नृत्य मुस्ताङमा १६ सय बर्ष अघिदेखि नै नाँचिदै आएको दावी गर्दै आएका छन् ।

अहिले धेरै गुम्बाहरुमा यो नाँच नाँचिन छाडेपनि केही गुम्बामा यो नृत्य निरन्तर चल्दै आएको छ । मुस्ताङको मौलिक र परम्परागत नृत्य भएको कारण पनि स्थानीयवासी यो नृत्यको संरक्षण र निरन्तरतामा लागिपरेका छन् ।

धर्म र जातीयता भन्दा माथि उठेको यो नृत्य हेर्नेहरुका लागि पनि मनमा शान्ति कायम हुने विश्वास स्थानीय लामाहरुको छ । शताब्दीयौ पुरानो यो नृत्यको जगेर्ना गर्न स्थानीय तहहरु अघि सर्दा प्रदेश र संघीय सरकारको पनि ध्यान जानु जरुरी देखिएको छ ।

३. तनहुँको मुलावारीस्थित कालाभैरव मन्दिरको पुनर्निर्माण स्थानीयवासी आफैले गरे

बाइसे चौबीसे राज्यकालदेखि नै पुँजिदै आएको तनहुँको मुलावारीस्थित कालाभैरव मन्दिरको पुनर्निर्माणमा स्थानीयवासी आफै अघि सरेका छन् ।

संरक्षणको अभावमा जीर्ण बन्दै गएको कालाभैरव मन्दिर पुनर्निर्माणका लागि देश विदेशमा रहेका स्थानीयवासीबाट करिब ४५ लाख रुपैयाँ संकलन गरिएको थियो । २०७३ सालको फागुनदेखि पुननिर्माण थालिएको यो मन्दिरको पुनर्निर्माण कार्य हालसालै सम्पन्न भएको छ ।

धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको यो मन्दिरको भौगोलिक अवस्था पनि उत्तिकै चित्ताकर्षक छ । एकादशी र औंशीबाहेक अन्य दिन निरन्तर पूजा हुँदै आएको यो मन्दिरमा रामनवमी र विजयादशमीको दिन ठूलो मेला लाग्ने गरेको छ ।

मनोरम हिमश्रृंखलाको अवलोकन र तनहुँका बिभिन्न शहर र गाउँको दृश्यावलोकनका लागि पनि मन्दिर उपयुक्त गन्तव्य बन्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com