हटाउनु अघि प्रधानमन्त्रीले एक वचन सोधेको भए के विग्रन्थ्यो र : निवर्तमान मन्त्री थापा



प्रकाशित मिति : Nov 23, 2019

काठमाडौं । मन्त्रालयबाट बाहिरिए लगतै निवर्तमान मन्त्री थममाया थापाले प्रधानमन्त्रीको रवैयाप्रति असन्तुष्टि जनाउनु भएको छ ।

थापाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेर आफूले गरेका कार्यसम्पादनमा कुनै कमी कमजोरी नभएको दाबी गर्नुभएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा टिभी जर्नलिष्ट स्मृति मल्लसंग विशेष कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको कुरा गर्दै आएपनि को हट्ने? को बस्ने ?भन्नेबारेमा मन्त्रीहरुलाई कुनै जानकारी नहुनु दुःखद भएको बताउनु भयो ।

उहाँले सुरुमा भन्नुभयो, ‘पुर्नगठनको यो एउटा नियमित प्रक्रिया नै हौ । २०७४ फागुन तीन गते गठन भएको यो मन्त्रीमण्डल दुई/तीन पटक फेरबदल पनि भएको छ । यसैबीच केही मन्त्रीहरु थपिएका छन्, भने केही मन्त्रीहरु बाहिरिएका छौं । यो एउटा नियमित प्रक्रिया हो जस्तो मलाई लाग्छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘हामीले मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार मन्त्रालयको कार्य क्षेत्रमा पर्ने महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगताको क्षेत्रमा जे-जसरी काम गरिरहेका थियौं र मैले २१ महिनाको अवधिमा यो क्षेत्रमा जनस्तरसम्म पुगेर काम गरेँ । किनभने महिला, बालबालिका, जेष्ट नागरिक र अपांगता भनेको झन्डै ८० प्रतिशत जनताको सरोकार राख्ने क्षेत्र हो ।’

उहाँले थप्नुभयो, ‘वास्तवमै महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा भएका विशेष समस्याहरु, महिलामाथि हुने हिंसाहरुलाई न्यूनीकरण गर्ने कुराहरु, अपांगता भएका ब्यक्तिहरुका लागि नीति, ऐन बनाउने कुराहरु, जेष्ठ नागरिकको हक अधिकारको लागि ऐनहरु परिमार्जन गर्ने कुराहरुमा हामीले तदारुक्ताका साथ काम गरिरहेका थियौं । यो मन्त्रालयमा २१ महिनाको अवधिमा आत्मसमीक्षा गर्दा म पूर्ण रुपमा सन्तुष्ट छु ।’

त्यस्तै उहाँले बाँकी कुराकानी क्रममा पार्टीभित्रका विवादका विषयहरु कम हुदै गएपनि आपसी छलफल र सहमतिमा ध्यान नदिए त्यसले गम्भीर परिणम ल्याउन सक्नेमा सचेत रहन आग्रह गर्नुभएको छ ।

मन्त्रीबाट हटेको विषयमा थापाले भन्नुभयो ‘कमसेकम हटाउनु अघि प्रधानमन्त्रीले एक वचन भन्नुभएको भए सहजता र सर्वसम्मतिका लागि म आफै राजीनामा दिन तयार थिए ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com