इलामको अन्तुको आकर्षणमा डुबे हजारौं आन्तरिक पर्यटक, होमस्टे व्यवस्थित बनाउन सुझाव ! (भिडियो)



प्रकाशित मिति : Nov 09, 2019

१.इलामको अन्तुको आकर्षणमा डुबे हजारौं आन्तरिक पर्यटक, होमस्टे व्यवस्थित बनाउन सुझाव

प्रेमिल जोडीहरुलाई चिसो सिरेटोले स्वागत गर्छ , प्रकृतिप्रेमीहरुका लागि गलैचा झै लमतन्न तर मिलेको चियाको बुट्टाहरु हाँसिरहेको हुन्छ, मौसम अनुसार फुल्ने फुलले कस्को मुटुमा स्पन्दन नगरोस् ?

त्यसमाथि उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको मनमोहक दृश्य जति हेरे पनि कसैको मन अघाउँदैन । इलामको अन्तुले दिने आनन्दको वर्णन हो यो, जहाँ पुग्नेहरुले यस्तै अनुभूति लिएर फर्कने गरेका छन् ।

घुम्न मन पराउने अर्थात आन्तरिक पर्यटनको वृद्धि हुँदै जाँदा भ्रमण बर्षको लागि प्रमुख सय पर्यटकीय स्थलमा समाहित बनेको इलामको अन्तुको विशेषता धेरै छन् । प्रकृतिले दिएको अनुपम उपहार अन्तु टेक्नेको संख्या दिनानुदिन बाक्लिदै गर्दा अन्तुले इलामको शान र नाम पनि बोक्न थालेको छ ।

असोज कात्तिक यता मात्र यहाँ ४० हजार बढी पर्यटक पुगेर स्वर्गीय अनुभूति लिइसकेका छन् । तर गर्नु पर्ने धेरै कामहरु बाँकी छन् अन्तुमा । पर्यटक रोजे र सोंचे जस्तो होमस्टे र होटलहरु नभएको गुनासो बढ्दा अन्तुको अनुभूतिमा दाग लाग्ने गरेको छ । यसतर्फ अन्तु र अन्तुवासीले सोच्न जरुरी छ ।

२.तेह«थुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना प्रचार प्रसारको अभावमा ओझेलमा

ह्यात्रुङ झरना नेपालको मात्र नभइ दक्षिण एसियाकै अग्लो स्थानबाट बहने झरना मानिन्छ । तेह«थुमको सौन्द्धर्य र चिनारीको लागि अलग्गै छाप बनाउन सफल यो झरना फेदाप गाउँपालिकाको ३ सय ६५ मिटर अग्लो स्थानबाट झरेर सबैलाई रोमाञ्चित तुल्याउँदै आएको छ ।

अग्लो स्थानको झरना मात्र नभइ यही झरनाबाट हरेक दिन देखिने सप्तरंगी इन्द्रेणीले यस्को सौन्द्धर्यलाई झनै चुल्याउँदै आएको छ । ह्यात्रुङ झरनामा झुम्न जानेहरुको संख्या दिनानुदिन बढ्दो छ । तर पर्याप्त प्रचार प्रसारको अभाव, विकट स्थल र स्थानीय तहहरुले यस्को संरक्षण एवं प्रवद्र्धनमा ध्यान नदिदा यो झरना ‘माल पाएर पनि चाल नपाएको’ झै गुमनाम भएर वग्दो छ, निरन्तर बग्दो छ ।

३.भोजपुरकी ६ दशक कटेकी रानीमाया मौलिक कपडाकोरुपमा रहेको कोकटी संरक्षणमा एक्लै खटिदै

आधुनिकतालाई स्वीकार्दा नेपालबाट मौलिकता, परम्परा, पुर्खाहरुको नासो र चिनारीहरु निरन्तर लोप हुँदै जाँदो अवस्थामा छ । नेपाली परम्परा र मौलिकतासंग जोडिएका धेरै चिनोहरु अब इतिहास नै बनिसकेका छन् ।

पानीघट्टहरु घाटमा नै पुगिसके, चौताराहरुमा सुस्ताउनेहरु अहिले कोही भेटिदैनन, ढिकी जाँतो हराउँदो अवस्थामा छ भने पुर्खाहरुले आफ्नै पनको आधारमा तयार गरेर लगाउँदै आएका कपडाका लुगाहरुमा आधुनिकताको आवरणले बास गरिसकेको छ ।

एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने परम्परा र मौलिकतामा अब अवरोध उत्पन्न भइसकेको छ । तर भोजपुर चरम्बीकी रानीमाया राईले भने बाजे बराजुको पालादेखि चल्दै आएको तानमा कपडा बुन्न छोडेकी छैनन । कोकटी भनिने यो परम्परालाई बचाउँदै आएकी अहिले उनी एक्ली छिन् । भनिन्छ मुलुक एकीकरण गर्दा पृथ्बीनारायण शाहले कोकटी र कपासबाट बनेको कपडा लगाएर युद्ध लडेका थिए रे ।

यही सुनेकी रानीमायाले यो परम्परालाई बाँचुञ्जेल र सकुन्जेल धान्ने अठोट लिएकी छिन् । उमेरले ६ दशक नाघेपनि उनले यही परम्परा धानेर महिनाको ८० हजार आफ्नो सन्दुकमा सजाउँदै आएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com