दाङमा चुनावी माहाेल तातियाे



प्रकाशित मिति : Nov 09, 2019

दाङ, २३ कात्तिक । मंसीर १४ गते हुन लागेको दाङ क्षेत्र नम्बर ३ (ख) प्रदेश सभाको उपनिर्वाचनका लागि चुनावी माहाेल तातिएको छ । ठूला चाडपर्वको समापन र कार्तिक २० गते मनोनयन दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरू चुनावी माहाेलमा उत्रिएका छन् ।

उपनिर्वाचनमा १२ वटा पार्टी र २ वटा स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । उपनिर्वाचन नेकपा र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ । नेकपा र काँग्रेस दुवै प्रचार प्रचारमा लागि परेका छन् ।

नेपाली काँग्रेस दाङले क्षेत्र नम्बर ३(ख) को आयोजनामा शुक्रबार श्रीगाँउमा पार्टीको चुनावी भेला गरेको छ । भेलाले प्रदेश सभासदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५सय १ सदस्यीय प्रचार प्रसार मूल समिति गठन गरेको सचिव चुडामणी ढकालले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ३(ख)का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्बर ३ (ख) अन्तर्गत दंङगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, १० र ११ नम्बर नेपाली काँग्रेस इकाई सभापति,वडा कमिटी, महासमिति,महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दल, नेबिसंघ, महिला सङ्घ,नेपाल प्रेस युनियन, शिक्षक, दलित, महिला, अपाङ्ग लगायत सम्पूर्ण भातृ तथा शुभेच्छुक सङ्घ संस्थाहरूको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मूल समिति गठन गरिएको हो ।

त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले लोकतन्त्रबादी र कम्युनिस्ट बिचको प्रतिस्पर्धाको लागि यो चुनावलाई लिएको बताउनुभयो । त्यस कारण अव कुनै पनि बहानामा वा प्रतिशोधमा नभई लोकतान्त्रिक प्रणालीको रक्षाका लागि चुनावी मैदानमा उत्रन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारबाट निराश भएका नागरिकलाई काँग्रेसको पक्षमा ल्याउनु पर्ने सुझाव दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गर्नुहुँदै रातलाई रात र दिनलाई दिन नभनिकन नागरिकको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाउनुभयो


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com