पाँचथरमा परम्परागत विधिबाट उत्पादित चियाको माग बढ्यो



प्रकाशित मिति : Nov 08, 2019
  • कबिन्द्र शेर्मा,

पाँचथर । पाँचथरमा परम्परागत रुपमा हातबाटै बनाइएको चियापत्ति उपभोक्ताको रोजाईमा परेको छ । हाते चियाको नामले चिनिने यो चियाको माग जिल्ला बाहिरबाट समेत हुने गरेको किसानहरु बताउँछन् । यस्तो चियाबाट राम्रो आम्दानी हुने र बजारको समेत समस्या नहुने भएपछि किसानहरुले उत्पादन बढाउँदै लगेका छन् ।

पाँचथरका किसानले हातबाटै निर्माण गरिने चियाबाट राम्रो आम्दानी गर्न थालेका छन् । हाते चिया स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकाले स्थानीय देखि पर्यटकको रोजाइ बन्ने गरेको छ । हातबाटै बनाइएको पत्ति चियाको माग बढेपछि परम्परागतरुपमा बनाइने हाते चिया बनाउन पाँचथर जिल्ला फिदिम नगरपालिका ३ लालीखर्कका चिया किसानहरु ब्यस्त छन्् । हाते चियाले राम्रो आम्दानी हुन थालेपछि विदेशीएका युवा समेत गाउँ फर्केर चियाका पत्ती बनाउने गरेका छन् ।

परम्परागत विधिबाट बनाउने यस्तो चिया गोल्डेन, ग्रिन र ब्याक हातेपत्तीको रुपमा उत्पादन गरिदै आएको छ । यस्तो चिया न्युनतम २० रुपैया प्रति प्याकेटसम्म बजारमा पाउन सकिने किसानहरु बताउँछन् । यो चिया ६ सयदेखि ३५ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ । जसबाट लाखौंको आम्दानी हुने गरेको किसानहरु बताउँछन् ।

परम्परागत रुपमा बनाउने यस्तो चियाबाट किसानले बार्षिक १५ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । आधुनीक मेसिनले बनाएको चिया भन्दा यो चियाको स्वाद बढी गुणस्तरिय र फरक हुने भएकाले उपभोक्ताको रोजाईमा यस्तो चिया परेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com