असारे हतारो त्यागेर हरेक महिना विकास निर्माणको काममा लागे स्थानीय तहहरु (भिडियो)



प्रकाशित मिति : Nov 02, 2019

१. असारे हतारो त्यागेर हरेक महिना विकास निर्माणको काममा लागे स्थानीय तहहरु

असारे हतारो र चटारोको नेपालको विकासको वानी र शैली नै बनिसकेको छ । असारको हतारमा बजेट रित्याउन गरिने यो नाटक अब मुलुकबाट विदा गर्नु पर्ने सोंच बन्नु पर्ने बेलामा केही स्थानीय तहहरुले पनि सकारात्मक अभ्यासको आरम्भ गरेका छन् । अर्घाखाँचीका ६ स्थानीय तहहरु मध्ये दुई स्थानीय तहले योजना नै बनाएर वडा वडामा पुगेर विकास निर्माणको काम अघि बढाउन थालेका छन् ।

काम समयमा नसक्ने उपभोक्ता समितिलाई जरिवाना तिराउने निर्णय नै गराएर मालारानी गाउँपालिका र भूमिका स्थान नगरपालिकाले काम अघि बढाएका छन् । जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न विकास निर्माणको काम अघि बढ्दा स्थानीयवासी पनि हर्षित बनेका छन् । असारमा गर्ने र असारमा नै सिध्याउने विकासे काम दीर्घलालीन र दिगोपना पनि नहुँने हुँदा दुई स्थानीय तहले विकास निर्माणको कामलाई हरेक महिनामा नै अघि बढाउन थालेका छन् । अन्य स्थानीय तहले पनि सिको गर्न लायक यो उदाहरण हरेकले अपनाए मुलुक बन्न केही समय पनि लाग्दैन ।

२.रोल्पामा रोल्पा नगरपालिकाको कार्यालय र भेटेरिनरी अस्पताल एउटै भवनमा, उपभोक्ता अलमलमा

कहीँ नभएको जात्रा हाडीगाउँमा भनै झै उदाहरण रोल्पामा पेश भएको छ अहिले । रोल्पामा रोल्पा नगरपालिकाको कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय एउटै भवनबाट सञ्चालन आउँदा उपभोक्ताहरुलाई सकस भएको छ । तत्कालीन पशु सेवा कार्यालय खारेज भएपछि सो भवनमा नगरपालिकाले आफ्नो कार्यालय स्थापना गर्यो ।

तर त्यहींबाट भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएका छन् । १० महिना अघि प्रदेश पाँचकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल भवनको उद्घाटन गर्न रोल्पा पुग्दा विवाद देखेर भवनको उद्घाटन नै नगरि फर्किएकी थिइन । अहिले पनि उपभोक्ताहरु अलमल पर्ने गरी दुई कार्यालय सञ्चालनमा आएपनि यो विवाद मिलाउने तर्फ कसैको ध्यान गएको पाइएको छैन ।

३. च्याउ खेती पाल्पाली युवाहरुको आयआर्जनको गतिलो माध्यम बन्दै

च्याउ खेती अहिले पाल्पाली युवाहरुको आयआर्जनको गतिलो माध्यम बन्न पुगेको छ । पाल्पामा उत्पादित धेरै जातका च्याउहरुमा गुणस्तर पनि राम्रो भएकोले यसतर्फ उपभोक्ताको ध्यान पनि तानिन थालिएको छ । पाल्पा जिल्लालाई च्याउ जिल्लाकोरुपमा चिनाउन लागिपरेका यहाँका युवाहरुले च्याउ बेचेर एक बर्षमा नै १० लाख रुपैयाँसम्म घर भित्र्याउन थालेका छन् ।

पाल्पामा उत्पादित च्याउ पोखरा, वुटवल, काठमाडौं हुँदै भारतको नयाँ दिल्लीमा समेत पुग्न थालेपछि अहिले पाल्पामा उत्पादित च्याउले बजार पनि राम्रो पाएको छ । बाझो बसेका खेतबारी र रोजगारीका लागि विदेशिने युवाहरुका लागि पाल्पाका युवाहरुको परिश्रम लोभलाग्दो देखिएको छ । यस्तै श्रम गरे सुख र समृद्धिको यात्रामा रहेको मुलुकका लागि पाल्पाका युवाहरु उदाहरण बन्ने देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com