परिवर्तन आफैबाट सुरु गरौं, दोष दिएर उन्मुक्ति पाइदैन : कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण



प्रकाशित मिति : Oct 26, 2019

काठमाडौं । नेपालीहरुको तिहार पर्व आजबाट सुरु भइसकेको छ । विशेष गरी तिहारमा धेरै झिलीमिली बत्तीहरु बाल्ने गरिन्छ, जसको कारण विद्युतको धेरै खपत हुने गर्छ । त्यसोत, यो वर्षको तिहारमा विद्युत आपूर्तिमा समस्या नहुने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । टिभी जर्नलिष्ट स्मृति मल्लसँग गर्दै उहाँले भन्नुभयो–‘यो वर्षको तिहारमा घर–घरमा आवश्यकता अनुसार बत्तीहरु बाल्दा केही फरक पर्दैन । पोहोर सालको तिहार भन्दा केही माग बढेपनि आपूर्तिमा समस्या आउँदैन । हामीले प्रशस्त मात्रामा सप्लाई गर्न सक्छौं । तर, केही ठाउँमा प्राविधिक समस्याहरु आयो भने डिस्टर्भ आउन सक्छन् ।’

उहाँले थप्नुभयो–‘सरकारले आगामी तीनवर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पु¥याउने भनेर कार्यक्रम ल्याएको छ । तीन वर्षभित्र हरेक नेपालीको घर–घरमा बत्ति पु-याउने, नपुगेका नेपालीको लागि बैकल्पिक उर्जाबाट पनि सप्लाई दिने भन्ने हिसाबले कार्यक्रम अगाडि बढिरहेको छ । यो आर्थिक वर्षमा मात्रै पनि हामीले ४० वटा जिल्लालाई शतप्रतिशत विद्युतीयकरण गर्ने भनेर कार्यक्रमहरु अगाडि बढिरहेको छ । अहिलेसम्म ७८ प्रतिशत नेपालीहरु विद्युतको पहुँचमा छन् ।’

तीन वर्षभित्र सबै नेपालीहरुको घर–घरमा विद्युत पु¥याउने सरकारको लक्ष्य अनुसार आफूहरुले काम गरिरहेको निर्देशक घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो-‘ठूलो संस्था छ । यहाँ धेरै कामहरु गर्नुपर्ने हुन्छ । धेरै निर्णयहरु गर्नुपर्ने हुन्छ । निर्णय नगरिकन रिजल्ट आउँदैन । रिजल्ट आउनलाई छिटो निर्णयहरु गर्नुपर्छ । छोटो समयमा धेरै कामहरु गर्नुपर्ने हुन्छ । त्यसैले हामीले नेपालमा नियम-कानूनको परिधिभित्र रहेर राम्रो नियतले काम गरेका हुन्छौं । यसरी काम गर्दा गर्दै पनि कहिँ–कतै विवादहरु आइहाल्छन् ।’

उहाँले फेरि भन्नुभयो–‘हामीले गरेका सबै निर्यणहरु नेपालको नियम–कानूनभित्र रहेर गरेका छौं । हामीले गलत नियतले निर्यणहरु गरेका छैनौं । केही विवादहरु आइरहन्छन्, तर हामीले आफ्नो कामलाई निरन्तर अगाडि बढाइरहेका छौं ।’

‘हाम्रो सिस्टम एकदमै ठीक छ भनेर पनि मैले भन्दिन। धेरै ठाउँमा सुधार गर्नुपर्नेछ । सुधार गर्नुपर्ने सिस्टममा चाँहि लिडरसीपदेखि तलसम्म नै सकारात्मक कुराहरु र सुशासनका विषयहरुलाई राम्रो तवरले अगाडि बढाउँदा राम्रो हुन्छ र लिडरसीपमा विश्वासनीयता बढ्छ । रिजल्ट पनि राम्रो आउने हुन्छ । तर, कुरा अर्कै गर्ने, काम चाँहि अर्कै गर्ने हो भने, तलका कर्मचारीहरुले पनि सहयोग गर्नसक्दैनन् । त्यसैले टप टु बटम अप्रोचमै जानुपर्छ’, उहाँले भन्नुभयो ।

परिवर्तन आफैबाट सुरु गर्नुपर्ने निर्देशक घिसिङको भनाइ छ । उहाँले भन्नुभयो–‘कर्मचारीहरुलाई मात्र राम्रो काम गर भन्ने, तर संस्थाका प्रमुखले चाँहि गलत काम गरिरहने हो भने रिजल्ट राम्रो आउँदैन । लिडरले चाहेको कुरालाई तलसम्म रिफ्लेक्ट हुने गरी काम गर्नुपर्छ । त्यसैले अरुलाई दोष दिनुभन्दा पनि आफैबाट परिवर्तन गर्नुपर्छ ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com