बागलुङ नगरपालिकाका २६ मध्ये २२ सीसी क्यामेरा विग्रिए, सुरक्षा चुनौती थपियो (भिडियो)



प्रकाशित मिति : Oct 22, 2019

१.बागलुङ नगरपालिकाका २६ मध्ये २२ सीसी क्यामेरा विग्रिए, सुरक्षा चुनौती थपियो

सीसी क्यामेरा शहरको सुरक्षा र अपराध नियन्त्रण एवं सुरक्षा सहजताका लागि महत्वपूर्ण प्रविधि हो । अहिले नेपालका धेरै शहरहरुमा सीसी क्यामेरा जडान भइसकेका छन् । समाजमा बढ्दो अपराध , दुर्घटनाको निगरानी गर्न सहज भएको यो प्रविधि बागलुङ बजारमा पनि २०७१ सालमा भित्र्याइएको थियो । तर त्यतिखेर जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा विग्रिएपछि अहिले बागलुङ बजारमा सुरक्षा चुनौती थपिदो छ ।

बागलुङ नगरपालिकाको ३० लाख र उद्योग वाणिज्य संघ बागलुङको २० लाख लगानीमा जडान गरिएको सीसी क्यामेरा विग्रिएपछि अहिले यस्को मर्मतका लागि कसैले चासो देखाएको छैन । जस्को कारण आफ्नो कार्यालयमा कन्ट्रोल रुम राखेर सुरक्षा निगरानी गर्दै आएको बागलुङ प्रहरीलाई पनि समस्या बनेको छ ।

२. करतरी मन्त्र वाचन गरेर पूजा गरिने स्याङ्जाको गह्रौंकोट मन्दिरमा दर्शनार्थीको बढ्दै

नेपालमा यस्ता धेरै मठ मन्दिरहरु छन जसप्रति आम धर्मभिरुहरुको अगाध आस्था रहदै आएको छ । स्याङ्जाको गह्रौंकोट मन्दिर पनि यस्तै कोटीमा पर्दछ । विक्रम सम्वत १५१० मा स्थापना भएको गह्रौंकोट तत्कालीन चौबीसे राज्यमा पर्र्दथ्यो । गह्रौंकोट देवीको नाममा स्थापित यस राज्यमा त्यस समयदेखि नै यो मन्दिरमा पूजाआजा हुँदै आएको इतिहास पाइन्छ । विशेषत काली माताको शक्तिकोरुपमा करतरी मन्त्र वाचन गरेर पूजा गरिने यो मन्दिरमा बली दिने चलन पनि पुरानो मानिन्छ ।

अहिले यो मन्दिरमा नेपालका मात्र नभई भारतीय तीर्थालु आएर पनि पूजा र भाकल गर्ने चलन बढ्दो छ । मन्दिर सञ्चालक समितिले पनि मन्दिरको व्यवस्थापनमा विशेष ध्यान दिएर प्रचार प्रसारमा जुटेको छ भने तिहारसम्ममा यहाँ २५ हजार भक्तजन पु¥याउने लक्ष्य समेत लिएको छ । समुद्री सतहदेखि १ हजार ७ सय मिटरको उचाईमा रहेको यस मन्दिरमा तेस्रो मुुलुकमा पर्यटकहरु भने हाइकिङका लागि पुग्ने गर्दछन् ।

३. झिलिङ्गा बेचेर तनहुँ व्यासका महिलाहरुको समूहले राम्रो नाम र दाम कमाए

महिलाहरु समूह बनाएर सक्रिय बने आयआर्जनको क्षेत्रमा गतिलो उदाहरण बन्न सक्छन भन्ने भनाइलाई तनहुँको व्यास नगरपालिकाका महिलाहरुले चरितार्थ गरेर देखाएका छन् । व्यास नगरपालिका ३ देउरालीका पाँच महिलाहरु मिलेर स्थापना गरेको देउराली नगर आमा समूहले अहिले दामसहित नाम पनि कमाएको छ । विशेषत चाँड पर्व र विशेष अवसरमा प्रयोगमा आउने झिलिङ्गा बेचेर उनीहरुले मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

विभिन्न चाड पर्वमा कोशेलीसँगै बालबालिकाको पास्नी, विवाह, व्रतवन्ध र बालवालिकाहरुलाई खाजाको रुपमा प्रयोग हुने झिलिङ्गा किन्न तनहुँमा पोखरा, नारायणगढ, गोरखा, लमजुङ, काठमाडौं, बीरगञ्ज, नेपालगन्ज र धादिङ सम्मका व्यापारीहरु पुग्ने गरेका छन् । गत साल ४ लाखको भिलिङ्गा बेचेका यो समूहले यस बर्ष ५ लाखको बेच्ने लक्ष्य लिएको छ ।

घरगोठको काममा बढी सक्रिय हुनु पर्ने महिलाहरु समूह बनाएर उर्वर काममा लागे आत्मनिर्भर बन्ने बाटो यही समाजमा यथेष्ट छ भन्ने उदाहरण पनि व्यासका यी महिलाहरु बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com