विराटनगर महानगरपालिका फोहोरको भ्रष्टाचारमा पनि डुबेपछि विराटनगरवासी बने निराश (भिडियो)



प्रकाशित मिति : Oct 19, 2019

अन्य स्थानीय तहहरुले झै विराटनगर महानरपालिकाले पनि दुई दशकपछि नयाँ नयाँ नेतृत्व पायो । धेरैले आश गरेका थिए अब महानगरको मुहार फेरिने छ । तर विराटनगरवासीहरु एक पछि अर्को गर्दै हरेक कार्यमा निराश बन्न पुगे । महानगरपालिकाले सेवा सुविधा दिने नाममा बढाएको करदेखि फोहोर व्यवस्थापनसम्ममा भएको राजनीति र भ्रष्टाचारले विराटनगरवासीहरु आफूहरुको अनुमान गलत भएको निष्कर्ष निकाल्न विवश छन् ।

अहिले विराटनगरवासीहरु फोहोरका लागि मासिक २ सयदेखि ४० हजार रुपैयाँसम्म एउटा कम्पनीलाई बुझाउन विवश छन् तर घर अघि थुप्रिएको फोहोर उठने कहिले टुंगो हुँदैन । विराटनगर महानगरपालिकाले विराटनगरको फोहोर व्यवस्थापनका लागि वेष्ट म्यानेजमेन्ट ग्रुपसंग सम्झौता गरेको छ । सम्झौता अनुरुप महानगरपालिकाले ११ लाख ४० हजार रुपैयाँसहित आफ्ना ३२ स्वीपरहरु समेत ग्रुपलाई दिएको छ । तर सम्झौता भएको धेरै नवित्दै विराटनगर महानगरपालिकालाई वेष्ट म्यानेजमेन्ट ग्रुप निल्नु न ओकल्नु भएको छ । कारण हो विराटनगर शहरमा थुप्रिएको फोहोर नउठेको भन्ने विराटनगरवासीको चर्को गुनासो ।

विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेण्ट ग्रुप नेपाल बीच न्यूनतम हप्ताको दुई पटक र महिनाको ८ पटक फोहोर उठाउने सम्झौता भएको छ । सो कम्पनीले मासिक पैसा जबरजस्ती लिने तर फोहोर नउठाउने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । यसरी जनताले गुनासो गर्दै आएपनि विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु भने मौन बस्ने गरेका छन् । मौन बसे वापत उनीहरुलाई फोहोर वापतको मोहर दिने गरिएको कर्मचारी स्रोतले बताएको छ ।

फोहोर उठाउने कम्पनीबाट तत्कालीन महानगरपालिका कार्यकारी अधिकृतदेखि सफाई शाखाका प्रमुखसम्मले मासिक हजारौं रुपैया लिने गरेको आफुले पनि सुनेको र यस बारे अनुसंधान थालिएको विराटनगर महानगरपालिकाले नै जनाएको छ । शहरको सभ्यता र स्वच्छतासंग जोडिएको फाहोरमा भएको यो घिनलाग्दो खेलले विराटनगर महानगरपालिका थप बदनाम समेत बन्न पुगेको छ । महानगरले यो निर्णय चाँडै नसच्याए भ्रष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भन्ने महानगर प्रमुख भीम पराजुलीको उद्घोषलाई नै जिस्काउन थालेको प्रतीत हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com