राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान, शीतलनिवासबाट हेलिकोप्टर चढेर एयरपोर्ट



प्रकाशित मिति : Oct 16, 2019

काठमाडौँ, २९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आज राष्ट्रपतिको प्रतिनिधिमण्डल नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित प्रस्थान गरेको हो ।

फाइल फाेटाे

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहनका छन् ।

उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभएको थियो ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारी र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुहुने जनाइएको छ ।

यङ्गोनमा उहाँले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नुहुनेछ । यङ्गोनमा उहाँले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नुहुनेछ । राजकीय भ्रमण सकेर कात्तिक ३ गते नेपाल फर्कनु हुने कार्यक्रम रहेको छ ।

हेलिकोप्टर चढेर शीतल निवासबाट विमानस्थलसम्म

राष्ट्रपति म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा जानुभएको थियो । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उहाँ हेलिकोप्टरमा चढेर विमानस्थल पुग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ

। राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो । यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com