बैदेशिक रोजगार विभागले मानव तस्करहरुको सञ्जालबाट बाँचेर फर्केकाहरुको उजुरी लिएन



प्रकाशित मिति : Oct 10, 2019

काठमाडौं । युरोप छिर्ने सपनामा मानवतस्करको गिरोहमार्फत लिबिया पुगेका लमजुङका सन्तोष श्रेष्ठको गत असार १७ गते लिबियाको विद्रोही पक्षको आक्रमणमा परी निधन भयो । इजिप्टको कायरोस्थित नेपाली दुतावास तथा अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमले उद्धार गरी नेपाल फर्काउने कागजपत्र तयार गरिसकेका सन्तोष जिवित नेपाल फर्किन पाएनन् ।

नेपालबाट नेपाली एजेन्टमार्फत दुबई र दुबईबाट पाकिस्तानी एजेन्टमार्फत लिबिया र लिबियामा भने जस्तो काम नपाएपछि इटाली छिर्न लाग्दा सन्तोष लिबियामै बन्दक बनेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा चाडबाडको छेकोमा खुसी हुँदै स्वदेश फर्किनेहरुको भिड भन्दा फरक कुनाबाट कमाउने सपना बोकेर उडेका सन्तोषको शब बाहिरिदै थियो । बृद्ध बा–आमा २७ बर्षीय छोरा कफनभित्र आउँदा सम्हालीन सकेका थिएनन् ।

लिबिया, नेपालीहरुको लागि अर्को इराक बनेको छ । लिबियाबाट बाँचेर फर्केकाहरुले आँफूलाई फसाउने एजेन्टका विरुद्ध प्रहरीमा उजुरी भने दर्ता भएका छैनन् । एजेन्टले क्यास पैसा लिने वा अन्य व्यक्तिको खातामा पैसा हालिदिन लगाउने गरेका कारण प्रमाण नभएको भन्दै मानव तस्करी व्युरो तथा वैदेशिक रोजगार विभागले उनीहरुको उजुरी लिदैनन् ।

युरोप छिर्ने आर्कषक सपनाको पछि लागेर एजेन्टलाई लाखौँ पैसा बुझाएर पनि लिबियामा बन्दक बनेका अर्का कुलबहादुर खत्रीको टोलीको पनि अवस्था उस्तै छ । दाङका कुलबहादुर लिबिया स्थित जेलमा हुँदा बाबुलाई पठाएको पत्रका बिषयमा हामीले रिर्पोटिङ गरेपछि इजिप्ट स्थित नेपाली दुतावास र आइओएमले उनको उद्धार गरेको थियो ।

उनी नेपाल त फर्किए तर उनलाई लिबियामा पु-याएर फसाउने एजेन्टहरु शुसिल केसी, यमजङ क्षेत्री, सुब्बा लामाका विरुद्ध भने प्रहरीले उजुरी लिन प्रमाण पुगेन भनिरहेको छ । मनाङका रवि गुरुङ नेपालबाट युरोपको सपना देखेर उडेको १० महिनामा ७ वटा जेलमा बसेर १५ लाख रुपैयाँ भन्दा बढी गुमाएर आइओएममार्फत उद्धार भएर नेपाल फर्किए ।

दाङकै प्रेम गौतमले गाँउकै यज्ञबहादुर विश्वकर्मालाई १५ लाख बुझाएर हिँडेका थिए । तर उनी पनि लिबियाका जेलमा बसेर नेपाल फर्किएका छन् । उनलाई ठग्ने एजेन्टविरुद्ध वैदेशिक रोजगार विभागबाट नियन्त्रण पूर्जी जारी भएको छ, तर एजेन्ट नियन्त्रणको आइसकेका छैनन् । उनीहरुले महिनौ बन्द कोठामा जीवन बिताएका छन्, भने घरबाट पैसा माग्न भन्दै अपहरणकारीले छातीमा गोली ताकेको सम्झिदाँ नेपाल फर्किने आशा कमै थियो । अहिले नेपाल त फर्किए तर, गाँउमा साउको ऋण तिर्न नसक्दा बस्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com