पर्यटकीय सहर धरानमा बसपार्कको बिजोग (भिडियो)



प्रकाशित मिति : Oct 10, 2019

काठमाडौं । देशका प्रमुख शहरमध्यको एक हो–धरान । घुम्न कै लागि वर्षेनी हजारौं पर्यटक यहाँ आउछन् । र, तिनीहरु पुग्ने पहिलो ठाउँ हो बसपार्क । तर, बीस वर्ष अगाडि भानुचोकमा निर्माण गरिएको बसपार्क अहिले पनि उस्तै छ ।

बसपार्क दिनानुदिन साघुँरिदै छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । २० वर्ष अगाडिको भन्दा अहिले सवारी साधन तीन गुणाले बढेका छन् । तर, बसपार्कको जग्गा २० वर्ष अगाडि जति थियो त्यति नै छ । यो बसपार्क कोशी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र धरान–विराटनगर रुटमा चल्ने सवारी साधनको ‘विसौनी’ हो ।

धरानलाई पर्यकटीय गन्तब्य बनाउन धरान उपमहानगरपालिका, पर्यटन व्यवसायी र स्थानीय कम्मर कसेर लागेका छन् । तर, १० कठ्ठा जमिनमा रहेको यो बसपार्क देख्ने बित्तिकै पर्यटकको मन बिरक्तिन्छ ।

साना–ठूला सबै सवारी साधन राखिने हुनाले यो बसपार्क अव्यवस्थित र साँधुरो छ । र, यही कारण धरानकै केन्द्रको सौन्दर्य मात्र बिग्रिएको छैन, दुर्घटना पनि बढिरहेको छ । थोरै ठाउँमा रहेको बसपार्क अस्तव्यस्त हुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको स्थानीय बताउँछन् । बसपार्क सार्नुपर्नेमा उनीहरुको जोड छ ।

यही बसपार्कमा केही समय अगाडि दुई वटा ठूला दुर्घटना भएको थियो । साना दुर्घटना त दिनदिनै जसो हुन्छ । सवारी चालक पनि बसपार्कले दुर्घटनाको जोखिम बढाइरहेको र पर्याप्त पार्किङ क्षेत्र नहुँदा समस्या रहेको गुनासो गर्छन् । छिटो–छरितो सेवा पाउनुपर्ने यात्रु बसपार्ककै कारण हैरानीमा पर्ने गरेको र त्यसको असर व्यापारसमेत परिरहेको चालकको भनाइ छ ।

बसपार्कले बढाएको समस्याबारे जनप्रतिनिधि, स्थानीय, सवारी चालकलगायत सबै जानकार छन् । तर, व्यवस्थित बनाउने प्रयास चाहिँ खासै भएको छैन । धरान उपमहानगरपालिकाले वडा नम्बर ८ को सुन्दर बस्तीमा सार्ने भन्दै नयाँ बसपार्कको शिलान्यास गरेको पनि धेरै भयो । तर, स्थानीयले विरोध गरेपनि निर्माणले गति लिएन ।

स्थानीय सरकारका प्रतिनिधि बसपार्कलाई उच्च प्राथमिकता दिइएपनि चरम राजनीतिकरण हुँदा योजना अलपत्र परेको दावी गर्छन् । राजनीतिक सहमति हुने हो भने बनाउन समस्या नहरेको बताउने उनीहरु बसपार्कको नाममा वर्षौदेखि जारी किचलोले धरानकै पहिचान संकटमा परेको दावी गर्छन् । बसपार्क मात्रै व्यस्थित गर्न सके धरानको मुख्य बजार क्षेत्रको सौन्दर्य आफैं कायम हुने जनप्रतिनिधिको भनाइ छ ।

बसपार्ककै कारण धरानका जनप्रतिनिधिले अपजस ब्यहोर्नु परिरहेको छ । स्थानीय बसपार्कसमेत व्यवस्थित गर्न नसक्नले अरु विकासका काम के गर्लान् भन्ने प्रश्न गर्छन् । तर, जनप्रतिनिधि ‘राजनीतिक कारण’ देखाएर पन्छिन खोज्छन् । अब्यवस्थित बसपार्कका कारण चालक, ट्राफिक प्रहरी, सर्वसाधारण, बटुवा, यात्रु सबै समस्यामा छन् । सार्नुपर्छ भन्नेमा सहमत रहेका सबै सरोकारवाला राजनीतिक स्वार्थको बन्धक बन्दा धरानका लागि नयाँ बसपार्क संधै चुनावी नारा बन्दै आएको छ ।

दश वर्ष अगाडि तत्कालिन नगरपालिकाले धरान–८ सुन्दरबस्तीमा बसपार्क सार्ने योजनासहित सर्वसाधारणको ३८ कठ्ठा जमिन आफ्नो स्वामित्वमा ल्याएको थियो । व्यक्तिको जग्गा नगरपालिकाले लिएपछि सुरु भएको विवाद अहिले पनि कायम छ । २०७६ माघ २७ गते बसपार्क शिलान्यास गर्दा पनि स्थनीयले विरोध गरेका थिए । बसपार्कका नाममा व्यक्तिको जग्गा हडपेर जनप्रनिधिकै मिलेमतोमा वेचविखन गर्न खोजिएको भन्दै स्थानीयले संघर्ष समिति नै बनाएका थिए ।

नगरपालिकाले २०६२ सालमा पनि सुन्दरबस्तीमै बसपार्कको शिलान्यास गरेको थियो । तर, निर्माण गरिएन । यस वर्ष पुनः शिलान्यासको ‘नाटक’ गरेर स्थानीयको जग्गा कब्जा गर्न मात्र खोजिएको संघर्ष समितिको आरोप छ । आफ्ना माग सम्बोधन नभएसम्म बसपार्क बनाउन नदिने संघर्ष समितिको चेतावनी छ ।

बसर्पाकलाई लिएर एकातिर संघर्ष समितिको अवरोध छ भने अर्कातिर राजनीतिक खिचातानी । स्थानीय सरकारका प्रतिनिधिले बसपार्कलाई उच्च प्राथमिकतामा राखिएको दावी गर्दै आएका छन् । तर, विपक्षी दल भने तत्काल निर्माणभन्दा त्यसलाई दीर्घकालिन राजनीतिक मुद्दा बनाउन खोजिएको आरोप लगाउँछन् । स्थानीयको माग वेवास्ता गरेर सुन्दरबस्तीमा २÷२ पटक शिलान्यास गरिएको भन्दै नेपाली कांग्रेसको नगर समिति भ्रष्टाचारका कारण बसपार्क निर्माणले गति नलिएको दावी गर्छ । नगर नेतृत्वको असक्षमताकै कारण धरानले वर्षपार्कको समस्याबाट मुक्ति नपाएको कांग्रेसको भनाइ छ ।

नगरको नेतृत्व गर्दा तत्कालिन एमालेले बसपार्कको समस्या हल गर्न नै नखोजेको र हाल नेकपाबाट निर्वाचित प्रतिनिधि पनि पुरानै प्रबृत्तिमा रहेको विपक्षी दलको आरोप छ । तर, नेकपाका प्रतिनिधि यो आरोप खण्डन गर्छन् । विपक्षी दलको किचलोका कारण अहिलेसम्म बन्न नसकेको प्रतिउत्तर आरोप लगाउने नेकपाका प्रतिनिधि अब पनि नयाँ बसपार्क बन्दैन की भन्ने शंका नगर्न आग्रह गर्छन् ।

धरानवाट देश भर नै सवारी साधन जाने भएपनि बसपार्क नहुँदा व्यवसायी मात्र नभई यात्रुलाई समेत सास्ती भइरहेकाले तत्काल विकल्प खोज्नु पर्नेमा स्थानीयले जोड दिँदै आएका छन् । पर्यककीय सहर भएकाले पनि धरानमा व्यवस्थित बसपार्क आवश्यक छ । तर, डीपीआर तयार नहुनु, शिलान्यासमा मात्रै हतार गरिनु र दलहरुबीच आरोप–प्रत्यारोप चल्नुले बसपार्क बनिहाल्ला भन्नेमा शंका छ ।

सुन्दरबस्तीमा ‘स्मार्ट’ बसपार्क बनाउन ४३ करोड लाग्ने अनुमान छ । डीपीआर तयार नभएकाले यकिन भइसकेको छैन । बसपार्कका लागि यस वर्ष नगर सरकारले अत्यन्तै न्यून र प्रदेश सरकारले १ करोड बजेट छुट्याएका छन् । प्रदेश सरकारको बजेट डीपीआर निर्माणमै खर्च हुने भएकाले बसपार्कको भौतिक प्रगति हुनेमा स्थानीय आशावादी छैनन् ।

२०/२५ वर्ष अगाडिदेखि नै बहसको रुपमा आएको बसपार्कको समाधान हुन नसकेकै कारण धरानको समग्र विकासमा बाधा पुगेको छ । साँगुरो सडक त्यसमा त्यही यत्रतत्र पार्किङ गरेका सवारी साधनले धरानलाई पर्यटकीय क्षेत्र भन्न पनि गिज्याए झै लाग्छ । त्यसैले बसपार्कको समस्या समाधानमा सबै एकजुट हुन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com