खोलामाथि व्यापारिक सटर ! सार्वजनिक जग्गामा प्रधानाध्यापक र व्यापारीको कमाउ धन्दा



प्रकाशित मिति : Oct 10, 2019

सिराहा । सिराहको कर्जन्हा नगरपालिका ११ स्थित जनसेवा माध्यमिक विद्यालयले हरिनकट्टा खोलामाथि पक्की सटर बनाएर व्यापारिक प्रयोजनमा लगाउने तयारी गरेको छ । विद्यालयको जग्गामा सटर बनाएर व्यापारिक प्रयोजनका लागि भाडामा दिने भन्दै २२ जना व्यवसायीसँग अग्रिम ४५ हजारका दरले पैसा उठाएका थिए ।

तर, कर्जन्हा बजार व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक लक्ष्मी हाईको मिलेमत्तोमा विद्यालयको सार्वजनिक जग्गा नभई कर्जन्हाको हरिनकट्टा खोलामाथि बनाएका सटर लिन लगाइयो । व्यापारीहरुले यस्तो ठाँउमा व्यापार गर्दा सुरुक्षा ग्यारेण्टी नहुने, जुनसुकै बेला खोला पस्न सक्ने, तथा सरकारले सार्वजनिक खोला मिचेको संरचना भत्काउन सक्ने भएकाले नबस्ने अडान लिएका छन् ।

खोलाकै अस्तित्व संकटमा पारेर व्यवसायीलाई समेत झुक्याएको विषयमा विद्यालय र बजार व्यवस्थापन समितिका विषयमा पीडित मध्येका एक श्याम कुमार साहले ०७६ साउन ११ गते शनिबार प्रसारण भएको ‘सीधाकुरा जनतासँग’को कार्यक्रममा लाइभ गुनासो गरेका थिए ।

विद्यालयको आडमा गलत काम भएको बिषयमा कार्यक्रममा गुनासो राखेपछि विद्यालयका प्रधानाध्यापक र बजार व्यवस्थापन समितिका केही व्यक्तिले अहिले श्याम कुमार साहलाई व्यापार गर्नै समस्या पारेका छन् । उनीहरुले पसल गरिरहेको घरबेटीलाई श्यामलाई निकाल्न दबाब दिइरहेका छन्, भने ‘सीधाकुरा’मा किन बोलेका भन्दै पसलमा ताला लगाउन दबाब दिएका छन्् ।

खोला मिचिएको बिषयमा श्यामले कर्जन्हा नगरपालिका, जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग, प्रदेश हेलो सरकार, राष्ट्रिय अनुसन्धान आयोगमा उजुरी गरेपनि जिल्ला अदालत बाहेक अन्यत्र कुनै सुनुवाई नै भएको छैन ।

अदालतको आदेशपछि श्यामको पसलमा लागेको ताला खुलेपनि खोलामाथि बनेका सटर भकिएका छैनन् । साथै श्याम लगाएतका व्यवसायीले दुई बर्षअघि जम्मा गरेको जनही ४५ हजार पनि फिर्ता भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com